News

Dec 31, 2010

मलेसियाले नेपाली घरेलु कामदार संख्या बढाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ पुस,उत्पादन र सेवामूलक क्षेत्रमा रोजगारीका लागि आकर्षक मानिँदै आएको मलेसियाले घरेलु कामदारका रूपमा नेपालीको संख्या बढाउने भएको छ । मलेसियाको भाषा, घरेलु कामदारका रूपमा काम गर्दा आवश्यक सीप आदिमा कामदारको योग्यता निश्चित गरिए नेपाली घरेलु कामदारको संख्या बढाउन मलेसिया तयार भएको हो । मलेसियाका मानव संशाधनमन्त्री डा. सुवर्णम मरिमले नेपाली घरेलु कामदारको संख्या बढाउन कुनै समस्या नरहेको जानकारी दिए । 'घरेलु कामदारका रूपमा काम गर्न योग्य भएको निश्चित गरिए नेपाली कामदार लैजान कुनै समस्या छैन,' उनले भने, 'त्यसका लागि भाषा, घरायसी काम आदि क्षेत्रमा नेपाली कामदार दक्ष हुनुपर्छ ।' उनले दक्ष कामदार निश्चित गरिए मलेसियाका रोजगारदाता कम्पनी नेपाली कामदार लैजान तयार रहेको बताए । मलेसियामा कार्यरत करिब १ लाख ७५ हजार ८ सय १० नेपाली कामदारमध्ये ८४ जना मात्रै घरेलु कामदार छन् । मलेसिया भ्रमणमा रहेका नेपालका श्रममन्त्री मोहम्मद अफताब आलमसँग मंगलबार भएको भेटमा मरिमले घरेलु कामदार संख्या बढाउने प्रस्ताव राखेका थिए । भेटमा नेपाल-मलेसियाबीच हुने श्रम सम्झौताका विषयमा पनि छलफल भएको थियो । ठूलो संख्यामा नेपाली कामदार मलेसियामा रहे पनि २ मुलुकबीच श्रम सम्झौता हुनसकेको छैन ।

No comments: