News

Dec 17, 2010

'संसदमा उपस्थित भएर तटस्थ बस्न पाइन्न'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २ - सर्वोच्च अदालतले सांसदहरुलाई प्रधानमन्त्री चुनावमा उपस्थित भएर तटस्थ बस्न वा मत दिन्न भन्न नपाउने फैसला गरेको छ । प्रधानमन्त्रीको १६ औं पटकको चुनावले पनि प्रधानमन्त्री छान्न नसकेको बेला शुक्रबार एक रिटमा फैसला गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो । प्रधानमन्त्रीको पछिल्लो चुनावहरुमा संसदमा पक्ष र विपक्षमा भन्दा पनि मत दिन्न भन्ने सांसद संख्या धेरै भएकाले उम्मेदवारी खारेज पनि नहुने र कसैले पनि नजित्ने अन्तहीन प्रकृयाको रुपमा स्थापित भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरु बलराम केसी, सुशीला कार्की र भरतराज उप्रेतीको विशेष इजालसले शुक्रबार संसदमा उपस्थित भएर पनि तटस्थ बस्न वा मत दिन्न भन्न नपाउने फैसला सुनाएको हो । प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्न माग गर्दै परेको रिटमा न्यायाधीशहरुले उक्त फैसला गरेका हुन् । साथै उक्त विषय व्यवस्थापिका संसदभित्रको क्षेत्राधिकारभित्रको विषय भएकोले त्यस बारे अदालतले निर्देशन दिन नमिल्ने फैसलामा उल्लेख छ ।

No comments: