News

Dec 14, 2010

वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिउन्दो इतिहासका रुपमा परिचित वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। मृगौलासम्बन्धी रोगबाट पीडित गोठालेको हिमाल नर्सिङहोममा उपचारकै क्रममा निधन भएको हो। गोठाले उपनाउँबाट प्रख्यात साहित्यकार मल्लको मध्याह्न १२ बजे निधन भएको हो। नेपाली साहित्यका कथा नाटक र उपन्यास तीनै विधामा पोख्त गोठालेका कथैकथा कथासंग्रह बाह्र कथा प्रेम र मृत्यु भुसको आगो च्यातिएको पर्दा दोष कसैको छैन भोको घर पल्लो घरको झ्याल अपर्णालगायत कृति प्रकाशित छन्।गोठालेको निधनले साहित्यका त्रयविधा टुहुरो भएको इतिहासकार चित्तराजन नेपालीले बताउनुभयो। साहित्यकार गोठालेको पार्थिव शरीर साँझ अबेरसम्म प्रज्ञाप्रतिष्ठान कमलादीमा श्रद्धांजलीका लागि राखी पशुपति आर्यघाटमा नेवार शाक्त परम्पराअनुसार उहाँका छोरा उमेशबहादुर मल्लले दागबत्ती दिँदै अन्तिम संस्कार गरियो।स्व. गोठालेलाई नाटँ संगीत प्रज्ञाप्रतिष्ठानका कुलपति अम्बर गुरुङ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला नाटककार प्रचण्ड मल्ल विमल निभा वरिष्ठ कलाकार हरिहर शर्मा सुलोचना मानन्धरलगायतले श्रद्धांजली अर्पण गर्नुभएको थियो। उहाँ पृथ्वी प्रज्ञा पुरस्कार त्रिभुवन प्रज्ञा पुरस्कार जगदम्बाश्री वेदनिधि पुरस्कार सरस्वती सम्मान रमा-कृष्ण साहित्य सम्मान पत्रकारिता पुरस्कारबाटसमेत सम्मानित हुनुभएको उहाँका भाइ डा. फत्तेबहादुर मल्लले बताउनुभयो।नेपाली लेखक संघका अध्यक्ष गोठाले ००७ सालको क्रान्तिमा समेत साहित्यिक आन्दोलनमा क्रियाशील रहनुभएको थियो। वि.सं. १९७९ असार २६ गते ओमबहाल काठमाडौंमा जन्मनुभएका गोठालेका चार छोरी र एक छोरा हुनुहुन्छ।साहित्यकार गोठालेको निधनप्रति नेपाल प्रज्ञाप्रतिष्ठानले एक वक्तव्यमार्फत समवेदना व्यक्त गरेको छ।यसै गरी नेपाल लेखक संघ वासुशशी स्मृति परिषद् साहित्यिक पत्रकार संघ सर्वदा वाङ्मय प्रतिष्ठानलगायतका संस्थाले विज्ञप्ति प्रकाशित गरी श्रद्धांजली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

No comments: