News

Dec 29, 2010

भट्टराईको भनाइप्रति दाहालपक्षका नेताको आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १४ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले फरक मत सञ्चारमाध्यममा ल्याएको भन्दै स्थायी समिति बैठकमा नेताहरूले अनुशासनको प्रश्न उठाएका छन् । भट्टराईले हाल शान्ति र संविधानको मुद्दा प्रमुख भएकाले तत्काल जनविद्रोहमा जाने कार्यदिशाप्रति आफ्नो असहमति भएको गत मंगलबार कान्तिपुर अन्तर्वार्तामार्फत सार्वजनिक रूपमा बताएका थिए । उनको अभिव्यक्तिप्रति अध्यक्ष दाहालले टिप्पणी नगरे पनि उनले आफू निकटका नेतासँग 'जनवाद' को दुरुपयोग भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा भट्टराईको अन्तर्वार्ताप्रति नेताले आपत्ति जनाएको स्रोतले जनाएको छ ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेल, वर्षमान पुनले फरक मत छलफल गर्न पार्टीमा विधिको तय नहुँदै भट्टराईले सञ्चारमाध्यममा लिएको भन्दै आपत्ति प्रकट गरेको स्रोतले जनाएको छ ।
मंसिर पहिलो साता भएको पालुङटार बैठकपछि पुस ४ मा भएको केन्द्रीय समिति बैठकमा पारित अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा जनविद्रोहको कार्यदिशा- प्रति भटराईले फरक मत (नोट अफ डिसेन्ट) लेखेका थिए । आफू अल्पमतमा परे पनि भट्टराईले शान्ति र संविधानको मुद्दा प्रमुख भएको तल्ला समितिसम्म लैजाने बताइसकेका छन् । उनले आफ्नो विचार महाधिवेशनसम्म लैजाने पनि बताएका छन् ।
स्थायी समिति सदस्य वर्षमान पुनले भट्टराईको सञ्चारमाध्यममा आएका विषयबारे बैठकमा छलफल भएको जानकारी दिए । 'मिडियामा गएको विषयबारे पनि कुरा उठे,' उनले भने, 'अभिव्यक्तिलाई व्यवस्थित गर्न अनुशासन विभागलाई सक्रिय गराउने कुरा पनि उठेका छन् ।' अर्का स्थायी समिति सदस्य देव गुरुङले फरक मतबारे सञ्चारमाध्यममा आएका विषयबारे समीक्षा भएको बताए । 'बैठकमा पार्टीभित्रका मिडियामा आएका विषय व्यवस्थित गर्ने कुरा हुन्न,' उनले भनाइ छ ।
भट्टराईले भने शान्ति र संविधानको मुद्दा पार्टीभित्र र बाहिर खुलेरै छलफल चलाउने पक्षमा
छन् । 'बाबुरामजीको विचार पार्टीभित्र र बाहिर छलफलमा लैजानुपर्ने आवश्यकता छ,' भट्टराई निकट नेताले कान्तिपुरसँग भने, 'त्यसकारण सञ्चारमाध्यममा आउनु स्वाभाविक हो ।' उनले सही विचारको जताततै बहस हुनुपर्ने दाबीसमेत गरे । स्थायी समिति सदस्य पोख्रेलले आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गरेर लैजाने बताए । जनवाद -आन्तरिक लोकतन्त्र) कार्यान्वयन गर्ने दिशा स्थायी समिति बैठकले तय गर्नेछ ।
केन्द्रीय समिति बैठकपछि दाहालले भट्टराईको फरक मतबारे सञ्चारमाध्यममा आधिकारिक रूपमा बोलेका छैनन् । केही महिनाअघि नेताहरूको सार्वजनिक अभिव्यक्ति समान ढंगले बाहिर ल्याउनुपर्ने भन्दै उपाध्यक्ष मोहन वैद्यको संयोजकत्वमा अनुशासन विभाग बनाए पनि हाल त्यो निष्त्रिmय रहेको छ । उपाध्यक्ष भट्टराईको फरक मत पत्रिकामार्फत सार्वजनिक भएको अवस्थामा विभागलाई सक्रिय बनाउने पक्षमा दाहाल छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र विभिन्न विषय उठे पनि एकताबद्ध भएर जाने बताए । 'पार्टीभित्र फरक मत हुन्छन्,' उनले भने, 'एकताबद्ध भएर जाने निर्णय हुन्छ ।'

No comments: