News

Jun 27, 2011

पाँच दिनसम्मका लागि राष्ट्रिय जनगणनाको म्याद थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ - जनगणनाका लागि लगत लिने कार्य नसकिएको भन्दै पाँच दिनसम्मका लागि राष्ट्रिय जनगणनाको म्याद थपिएको छ । केन्द्रीय तथ्याङ्क विभागले असार ३ गतेदेखि सुरु गरेको राष्ट्रिय जनगणना आइतबार सकिने भनिए पनि जनगणनाका लागि लगत लिने कार्य पूर्ण रुपमा सम्पन्न भइ नसकेकाले असार १८ गते सम्म म्याद थपिएको हो । तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्लले आइतबार सम्म पहाडी क्षेत्रमा ९५ र सहरी क्षेत्रमा ९० प्रतिशतमात्र जनगणना कार्य सकिएकाले पाँच दिनका लागि समय थपिएको जानकारी दिए । उनले हरेक १० वर्षमा गरिने जनगणनाको एक सताब्दी पुगेको अवसरमा यसपटकको जनगणनालाई विशेष बनाइएको र जनगणनामा छुटेकाहरुलाई आफ्नो विवरण उपलब्ध गराइदिन आग्रह गरे । 'कोही नछुटौं, कोही नदोहोरिऔं, अक्सर बसोवास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔं' भन्ने नाराका साथ सुरु भएको जनगणना सम्पन्न भएपछि दुई महिनासम्म जनगणनाको पुनः परीक्षण गरिने र असोज मसान्तसम्म जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्ने जनाइएको छ । अघिल्लो जनगणनाभन्दा अहिलेको जनगणनामा दुई दशमलव १३ प्रतिशतले जनसङ्ख्या बढ्ने अनुमान विभागले लिएको छ । जनगणनाबाट मुलुकको विकासका कार्यक्रमहरू तर्जुमा तथा सञ्चालनका लागि कुनै जिल्ला, गाउँ, सहर वा बस्तीहरूमा कति जनसङ्ख्या छ र तिनीहरू कसरी छरिएर बसोवास गरिरहेका छन् भन्ने सही रूपमा जानकारी दुरुस्त राख्न मद्यत पुग्ने गरेको छ । राष्ट्रिय जनगणनामा परिवारमा अक्सर बसोवास गर्ने व्यक्तिको नाम तथा थर, परिवारका सदस्यहरूको मुलीसागको नाता, लिङ्ग, उमेर जातजाति, वैवाहिक स्थिति, धर्म, भाषा, नागरिकता, अपाङ्गता सम्बन्धी विवरण, शिक्षा तथा साक्षरताबारे विवरण समेटिएको ५० बुँदे फारम प्रयोग गरिएको छ । व्यक्तिको जन्मस्थल, जिल्लाभन्दा अन्यत्र जन्मस्थल भए बसोवासको अवधि र कारण, पाँच वर्षअघिको बसोवासको स्थिति, जाय जन्म सम्बन्धी विवरण, आर्थिक तथा गैरआर्थिक क्रियाकलाप (पेसा र व्यवसाय) सम्बन्धी विवरण, बालबालिकाको बसोवासको अवस्था समेतको तथ्याङ्क यसपटकको जनगणनामा सङ्कलन गरिनेछ । राष्ट्रिय जनगणनामा ३४ हजार गणक, साढे आठ हजार सुपरीवेक्षक, ३५० इलाका सुपरीवेक्षक र एक हजार व्यवस्थापन सम्बन्धी कर्मचारी परिचालन गरिएको तथ्याङ्क विभाग जनसङ्ख्या शाखाका प्रमुख रुद्र सुवालले जानकारी दिए । विसं २०५८ मा लिइएको राष्ट्रिय जनगणनामा मुलुकमा बसोवास गर्नेको सङ्ख्या दुई करोड, ३१ लाख ५१ हजार ४२३ रहेको थियो । सो अवधिदेखि २०६८ सालसम्मको १० वर्षे अवधिमा जन्म, मृत्यु तथा बसाइसराइका कारण मुलुकको जनसङ्ख्यामा आएको परिवर्तनको सहीरूपमा जानकारी प्राप्त गर्नका लागि एघारौं जनगणना सुरु हुँदैछ । नेपालमा पहिलोपटक विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणनामा मुलुकको जनसङ्ख्या ५६ लाख ३९ हजार थियो भने त्यसपछि हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आइरहेको छ ।

No comments: