News

Jun 17, 2011

४५ हजारभन्दा बढी शिक्षकको एक श्रेणी बढुवा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३ - सरकारले सामुदायिक विद्यालयमा कार्यरत ४५ हजारभन्दा बढी शिक्षकको एक श्रेणी बढुवा गर्ने भएको छ । शिक्षकलाई पेसाप्रति प्रतिबद्ध र लगनशील बनाउन तथा निजामतीसरह सुविधा दिन बढुवा गर्न लागिएको हो । सरकारको यो नीतिले वर्षौंदेखि बढुवा हुन नसकेकाले राहत पाउने छन् । शिक्षामन्त्री गंगालाल तुलाधरका अनुसार निजामती कर्मचारीको पटक-पटक बढुवा हुँदा एउटै पदमा रहेका शिक्षकको निराशा हटाउन यस्तो तयारी गरिएको बताए । त्यसका लागि सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन गरेको छ । संशोधित नियमावलीअनुसार शिक्षकले तह र सेवाका आधारमा एक तह बढुवा पाउने छन् । संशोधित नियमावलीअनुसार शिक्षक नियुक्तिलाई समेत समावेशी बनाइने छ । 'यसले शिक्षकको निराशा समाधान गरेर पेसाप्रति थप लगनशील बनाउन प्रेरणा दिनेछ,' मन्त्री तुलाधरले बिहीबार कान्तिपुरसित भने, 'यसबाट सरकारलाई ठूलो आर्थिक भार पर्दैन । एक तह बढुवा हुँदा उनीहरूको तलबमान र सुविधा भने बढ्छ । यसले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा थप सघाउ पुग्छ ।' वरिष्ठता र कार्यसम्पादनका आधारमा ४५ हजार शिक्षक सामेल हुने अपेक्षा गरेको उनले जनाए । यसबारे अर्थ र शिक्षा मन्त्रालयबीच छलफल भइसकेको छ ।

No comments: