News

Jun 19, 2011

समूहगत समायोजन हुनु पर्ने माओवादी अडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले लडाकूहरुको समूहगत समायोजन हुनु पर्ने अडान दोहोर्याएको छ । प्रमुख तीन दलको शीर्ष नेताहरुको आइतबार बसेको बैठकमा माओवादीले ८ देखि १० हजार लडाकूलाई समायोजन गर्नु पर्ने र समायोजन समूहगत हुनु पर्ने अडान राखेको हो । जवाफमा कांग्रेस र एमालेले भने समूहगत समायोजन मान्य नहुने भन्दै लचिलो हुन आग्रह गरेको छ । माओवादीले युनिटबाइज कम्पनी वा बटालियनको समूहगत समायोजन हुनु पर्ने अडान लिएको एमाले उपाध्यक्ष अशोक राईले जानकारी दिनुभयो । 'आज आ–आफ्नो पुरानै अडान दोहोर्याउने बाहेक खास केही भएन' बैठकपछि कुराकानी गर्दै राईले भन्नुभयो–'माओवादीले ८–१० हजारको समायोजन, युनिटबाइज समायोजन हुनु पर्ने आफ्नो पुरानै अडान दोहोर्यायो । हामीले तीन वर्षदेखि त्यही कुराको रटान लाएर हुँदैन, लचिलो हुनुपर्यो भनेका छौं ।'
बैठकमा माओवादीले तह निर्धारणका लागि विज्ञहरुको सुझाव लिनु पर्ने प्रस्ताव गरेको छ । उसले नेपाली सेनाको मातहतमा गठन गर्ने भनिएको महानिर्देशनालयको जिम्मेबारी पनि तोक्नु पर्ने बताएको छ । माओवादी नेताहरुको भनाई उदृत गर्दै स्रोतले भन्यो–'समायोजनपछिको जिम्मेबारी कमव्याटन्सकै रुपमा हुनुपर्छ, उनीहरुलाई वाटो खन्ने लगायतका विकास निर्माणका काममा लगाउनु हुँदैन ।'जवाफमा एमाले र कांग्रेसले भने विगतमा भएको सहमति अनुसार नै सेना समायाजनबारे प्रष्ट खाका ल्याउन माओवादीलाई आग्रह गरेका छन् । 'माओवादीले समायोजनको नयाँ मोडलमा जाउँ भनेको छ' बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भन्नुभयो–'हामीले शान्ति सम्झौता अनुसार नै समायोजनको खाका बनाउनुपर्छ भन्यौं ।'संविधानसभाको म्याद थपिएपछि पहिलो पटक बसेको तीन दलको बैठकमा बजेट निर्माणका लागि तीनै दलका विज्ञहरु सहितको कार्यदल गठन गर्ने सहमति भएको छ । यद्यपी कुनै पनि दलले नाम दिएका छैनन । यसैगरी विश्वविद्यालय लगायत संवैधानिक निकायहरुमा सहमतिकै आधारमा नियुक्ति गर्ने सहमति पनि भएको छ । जेठ १४ गते संविधानसभाको म्याद थप्ने बेला ५ बुँदे सहमति गरेपछि तीन दलबीच आइतबार पहिलोपटक औपचारिक छलफल भएको हो ।

No comments: