News

Jun 14, 2011

पत्रकार कुट्ने प्रमुख योजनाकारलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, जेष्ठ ३१ - विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने योजनाकारलाई प्रहरी प्रशासनले अहिलेसम्म पक्राउ नगरेको विरोधमा मंगलबार निस्किएको बृहत् र्‍यालीले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएको छ । स्थानीय सन्सारीमाई स्थानबाट निस्किएको सो र्‍यालीमा विभिन्न राजनीतिक पार्टी, विद्यार्थी सङ्गठन, सञ्चारकर्मी, सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो । जेठ २२ गते राति पत्रकार ढकाललाई मरणासन्न हुनेगरी भएको आक्रमणका प्रमुख योजनाकार भनिएका युथफोर्स मोरङका अध्यक्ष पर्शुराम बस्नेतलाई प्रहरीले अहिलेसम्म पक्राउ नगर्दा चौतर्फी दबाब बढ्न थालेको छ ।
घटनामा संलग्न अर्जुन राई र रोहित कोइरालालाई प्रहरीले पक्राउ गरे पनि युथफोर्सका बस्नेत भने अझै फरार छन् । राजधानीमा एमालेको भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले परशुराम आफुसंग भएको भन्दै पक्राउ गर्न प्रहरीलाई चुनौती दिएको भोलीपल्ट बिराटनगरमा पक्राउ गर्न दवाव दिंदै विरोध प्रदर्शन भएको हो । र्‍याली पछिको कोणसभामा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य केदार कार्की, वाइसियल मोरङका इन्चार्ज अर्जुन क्रृषिदेव, तरुण दल मोरङका सभापति वाकराज कोइराला, युवा फोरम नेपाल मोरङका अध्यक्ष मोहमद फैयाज, तमलोपाका मोहमद नसरुल, अखिल क्रान्तिकारीका शर्मिला दाहाल र अनेरास्ववियुका प्रेमराज भारतीले घटनाको निन्दा गर्दै अपराधीलाई अविलम्ब पक्राउ गर्न माग गरेका थिए ।

No comments: