News

Jun 23, 2011

आतंकवादीको आरोपमा अफगानिस्तानमा नेपाली पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल (अफगानिस्तान), अषाढ ९ - आतंकवादी गतिविधिमा संलग्न आरोपमा अफगानिस्तानमा एक नेपाली पक्राउ परेको यहाँको जासुसी संस्थाले जनाएको छ । ४० वर्षीय तलकबहादुर (जसको थर उपलब्ध हुन सकेन) नेपालको भएको र उनलाई केही पाकिस्तानीसँग मिलेर आतंकवादी र जासुसी काममा संलग्न भएको आरोप लागेको छ । 'एक नेपाली नागरिकलाई आतंकवादी र जासुसी गतिविधिमा संलग्न रहेको कारण हामीले केही साताअघि हेल्मान्ड प्रान्तमा पक्राउ गरेका छौं,' जासुसी निकाय एनडीएसका प्रवक्ता जनरल लत्फुल्लाह मसालले भने । अफगान सुरक्षा निकायहरूको शक्ति र हतियारहरूबारे सूचना संकलनका क्रममा हालै केही अफगानी पक्राउ परेका थिए । 'उनीहरूले सैनिक प्रतिष्ठान र निकायहरूको तस्बिर खिचेका थिए,' मसालले भने । उनीहरूकै सूचनाको आधारमा विदेशी नागरिक पक्राउ परेका थिए, जसमा एक पाकिस्तानी र एक नेपाली नागरिक छन् ।
चार अफगान सहकर्मीसाथ उनले पाकिस्तानी जासुसी संस्था आईएसआईलाई इमेलमार्फत 'टिप्स र सूचना' चुहाउने काम गरेको एनडीएसका अधिकारी फहिम सुर्तानीले बताए । तलकबहादुर एउटा कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । उनले अफगान, विदेशी सुरक्षा निकाय र सैनिक प्रतिष्ठानहरूको धेरै सूचना संकलन गरेको उनको आरोप छ । 'उनको कम्प्युटरमा जेजति सूचना हामीले पायौं, ती सबै गोप्य थिए,' मसालले भने । कम्पनीमा उनको काम के थियो, ती अधिकारीले खुलाउन चाहेनन् । उनले तीनवटा हार्डडिस्कमा सुरक्षा इन्स्टलेसन, एयरपोर्ट आदिका तस्बिरहरू, प्रान्तीय प्रशासकको सुरक्षासम्बन्धी सूचना, हतियार विवरण, सुरक्षा निकाय र सुरक्षा अधिकारीहरूबारे सूचना, हेल्मान्डमा तैनाथ सुरक्षा निकायहरूको गन्ती र प्रकार, उनीहरूको मुभमेन्ट आदि राखिएका थिए । 'यी सबै विशुद्ध सुरक्षा र जासुसी सामग्री थिए,' उनले भने । प्रारम्भिक छानबिनमा नेपाली नागरिकले अपराध कबुल गरेको अधिकारीले बताए ।
'तलकबहादुरले आफूलाई पाकिस्तानी जासुसी संस्था आईएसआईले खटाएको र उनले ती सबै सामग्री आईएसआईलाई पठाएको कबुल गरे,' सुर्तानीले भने, 'जसको प्रमाण हामीसँग सुरक्षित छ ।' उनलाई अफगान कानुनबमोजिम कारबाही हुनेछ । विगतमा केही नेपाली भिसा र केही लागूऔषध कारोबारमा पक्राउ परे पनि हाल कोही पनि नेपाली नागरिक अफगान जेलमा नरहेको कारागार विभागका प्रमुख कर्नल हबिब जान रिझवनले बताए ।

No comments: