News

Jun 15, 2011

बेलायतस्थित विद्यार्थीले ४ जुलाई देखि काम गर्न नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, अषाढ १ - बेलायत सरकारले अध्यागमन नियन्त्रणकै एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने नियम आगामी ४ जुलाई, २०११ देखि लागू गर्ने भएको छ । अध्यागमन मन्त्री डेमियन ग्रीनले सोमबार लिखित वक्तव्यमार्फत सो घोषणा गरेका हुन् । ४ जुलाई पछि ‘टियर फोर’ अन्तर्गत प्राइभेट कलेज पढ्न भिसा लिने वा भिसा अवधि थप गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले कत्ति पनि काम गर्न पाउने छैनन् । भिसा लिइसकेका विद्यार्थी भने यस नियमबाट प्रभावित हुने छैनन् । यसअघि फाउण्डेसन डिग्री वा लेभल छ भन्दा माथिको कोर्स पढ्नेले सातामा २० घण्टा र डिपेन्डेन्टले पूरा समय एवं डिग्री लेभलभन्दा तल्लो तहका कोर्स अध्ययनरत विद्यार्थीले १० घण्टा काम गर्न पाउने अधिकार थियो । जुलाई ४, २०११ पछि विश्वविद्यालय वा पब्लिकली फण्डेड एजुकेसन प्रोभाइडर बाहेकका अन्य शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले कत्ति पनि काम गर्न नपाउने गरि प्रतिवन्ध लगाइने छ । तर, विश्वविद्यालयमा डिग्री लेभल वा सोभन्दा माथिको कोर्सका हकमा भने २० घण्टा र छुट्टीको अवधिमा पूरा समय काम गर्न पाइने छ । लेभल ७ वा सोभन्दा माथिका कोर्सका हकमा विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीले डिपेन्डेन्ट ल्याउन पाउने र डिपेन्डेन्टले पूरा समय काम गर्न पाउने छन् । साथै सरकारी स्तरबाट आएका विद्यार्थीका परिवारले समेत पूरा समय काम गर्न पाउने छन् । २२ मार्चमा गृहमन्त्री टेरेसा मेले अध्यागमन दुरुपयोग नियन्त्रण गर्न विद्यार्थी भिसा कडाई गर्ने नयाँ नियम सार्वजनिक गरेकी थिइन् । त्यस अन्तर्गत २१ अप्रिलपछि पहिलो चरणमा अंग्रेजी अनिवार्य र यसको ‘रिक्वायरमेन्ट’ बढिसकेको छ । डेभिड क्यामरन सरकार आफ्नो कार्यकाल सन् २०१५ सम्म दुई लाख ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थी संख्या घटाउने योजनामा दृढ छ । तर, यसबाट उसले २ दशमलव ४ विलियन पाउण्ड गुमाउने चेतावनी दिइएको छ । गृह प्रवक्ताले सन् २०१० मे यता सरकारको नियम उल्लंघन गर्ने ३३ शैक्षिक संस्थाहरुको लाइसेन्स् खारेज गरिसकिएको र अप्रिल २१, २०११ यता मात्र ७ वटा कलेज निलम्वन गरिएको जनाएका छन् । बेलायतमा विद्यार्थीहरुका लागि टियर–४ को व्यवस्था ३१ मार्च २००९ बाट लागू भएपश्चात सरकारले २००९ मा करिव २ लाख ७३ हजार र डिपेन्डेन्टका रुपमा करिव ३० हजार भिसा जारी गरेको तथ्यांक छ । सन् २०१० मा नयां टियर–४ भिसा लिएर आउने नयाँ विद्यार्थी संख्या २ लाख ५३ हजार ८४५ थियो भने १ लाख २० हजार १ सय ६० विद्यार्थीहरुको भिसा अवधि थप भएको थियो ।

No comments: