News

Jun 17, 2011

नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३ - पत्रकारमाथि भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनप्रति प्रमुख मजदुर संगठनका नेताहरुले पनि ऐक्यबद्धता जनाएका छन् । पत्रकार महासंघले बिहीबार सञ्चाग्राममा आयोजना गरेको अन्तर्क्रियामा मजदुर नेताहरुले आक्रमणका दोषिलाई कारबाही गर्नैपर्नेमा जोड दिए । एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष हरिदत्त जोसीले पत्रकारले लेख्न र बोल्न पाउनुपर्ने बताए । 'योसँगै मिडियामा धेरै शोषण छ, त्यतातिर पनि महासंघले ध्यान दिनुपर्छ,' उनले भने । कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य सूर्य नेपालले पनि पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाए । 'पत्रकारमाथिको आक्रमण निन्दनिय छ, दोषि कुनै पनि बहानामा उम्कनु हुन्न,' उनले भने । माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जनक शर्माले पत्रकारमाथि भएको आक्रमणको भर्त्सना गर्दै अपराधी जोगाउन नहुनेमा जोड दिए । 'आन्दोलनमा हाम्रो संगठनको ऐक्यबद्धता छ, यसमा संगठन भौतिकरुपमा पनि सहभागी हुन्छ,' उनले भने । अन्तर्क्रियामा मजदुर नेताहरु सूर्य ताजपुरिया, सुवर्णजङ्ग सिजापति, विदुर कार्कीलगायतले श्रमजीवीमाथि भएको आक्रमणको विरोध गरे । उनीहरुले पत्रकार र मजदुरबीचको सहकार्यमासमेत जोड दिए । पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले श्रम गरेर खाने पत्रकारमाथि आक्रमण भएको भन्दै सवै एक हुनुपर्नेमा जोड दिए । 'दोषिलाई कारबाही भएन भने यसको जगमा श्रृजना हुने भयले स्वतन्त्र पत्रकारितालाई बाधा पुर्‍याउँछ,' उनले भने, 'दोषि कानुनी कठघरामा नआएसम्म महासंघ चुप लागेर बस्दैन ।'

No comments: