News

Jun 27, 2011

समायोजन प्रस्तावमा पुनर्विचार नगर्ने दाहालको अडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजनका लागि नेपाली सेनामातहत महानिर्देशनालय बनाउने प्रस्तावलाई पुनर्विचार नगर्ने अडान राखेका छन् । उपाध्यक्ष मोहन वैद्य पक्षले उक्त प्रस्तावमा पुनर्विचार गर्न दबाब दिइरहेका बेला दाहालले त्यही मोडेलबाट अघि बढ्ने आफूनिकट नेतासँग बताएका हुन् । दाहाल र वैद्यबीच आइतबार भएको छलफलमा आ-आफ्नो अडानका कारण कुरा मिलेन । वैद्यले सेना मातहतको महानिर्देशनालयमा नेतृत्वसमेत लडाकुको नहुने हो भने समायोजनको प्रस्ताव पुनर्विचार गर्न आग्रह गरेको स्रोतले जनायो । दाहालले उक्त प्रस्तावबारे पार्टीले निर्णय गरिसकेकाले पछि हट्न नमिल्ने भन्दै शान्ति प्रक्रिया अघि बढाउन जोड दिए । त्यसमा वैद्यले फरक मत राखिसकेको हुनाले त्यसलाई छलफल गर्न सकिने तर निर्णय कार्यान्वयनमा लानुपर्ने दाहालको भनाइ थियो । वैद्य पक्षका स्थायी समिति सदस्य सीपी गजुरेलले सेनामातहत महानिर्देशनालय बनाउने स्थायी समितिको निर्णय जारी केन्द्रीय समिति बैठकले पुनर्विचार गर्नुपर्ने जनाए । 'समायोजनका लागि स्थायी समिति बैठकले गरेको निर्णय पुनर्विचार गर्नुपर्छ,' उनले भने, 'पार्टीभित्रको मुख्य अन्तरसंघर्ष पनि यही विषयमा हो ।'

No comments: