News

Jun 25, 2011

सिक्किममा पहिरोले ५ नेपालीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँकडभिट्टा, अषाढ ११ - भारतको सिक्किममा अविरल वर्षापछि बिहीबार राति गएको पहिरोमा पुरिएर पाँच नेपाली मजदुरसहित १५ जनाको मृत्यु भएको छ । स्थानीय पत्रकार केएन शर्माका अनुसार मृत्यु हुनेमा एकै परिवारका तीनसहित पाँच नेपाली तथा अन्य १० नेपालीभाषी मजदुर छन् । पश्चिम सिक्किमको सदरमुकाम गेजिङदेखि करिब १५ किलोमिटर टाढाको क्षेत्रमा सोमबार बिहानैदेखि भारी वर्षा भएकाले पहिरो गएको उनले जनाए । घटनामा मृत्यु हुनेमा पाँचथरको रानीटारका दावा तामाङ -६०), सुकमाया छेत्री (५५), टेकबहादुर अधिकारी (३८), उनकी पत्नी जानुका (३०) र एक दूधे बालक छन् । मृत्यु हुने सबै सडक मजदुर हुन् । उनीहरू केही समययता सिक्किमको राजधानी गान्तोक जोड्ने राजमार्ग निर्माणमा संलग्न थिए । सोही पहिरोमा पुरिएर दार्जिलिङस्थित विजनबारीका एकै परिवारका पाँच जना मजदुरको पनि पुरिएर मृत्यु भएको छ । कुमार राई (३५) उनकी पत्नी माया राई (२५), छोरी अनु राई (११) तथा छोराहरू अनुप राई (८) र बुद्ध राई (२) को मृत्यु भएको हो । पश्चिम सिक्किमकै कलुक सिरिवदाम निवासी पुजन सुब्बा (१२), सुजन सुब्बा (८), लिङचोम निवासी फिपराज सुब्बा (२५), माथिल्लो तिकजेक खेवा डाँडाकी प्रमिला गुरुङ (१६) र मनमाया सुब्बा (५५) को पनि घटनास्थलमै मृत्यु भएको सिक्किमका अर्का पत्रकार सरोज गुरुङले फोनमा जानकारी दिए । सडकदेखि करिब सय मिटर माथिदेखि घर सोहोरेर पहिरो खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिएका छन् ।

No comments: