News

Jun 11, 2011

दाहाल र वैद्य पक्षीय कार्यकर्ताको छुट्टाछुट्टै भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २८ - माओवादी नेताहरुको दोहोरो सुरक्षा हटाउने निर्णयमा विभाजित अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य पक्षीय कार्यकर्ताहरुले राजधानीमा छुट्टाछुट्टै भेला गरेका छन् । दाहाल पक्षीय कार्यकर्ताहरुले ललितपुरको पुल्चोकस्थित कृषि विभाग कार्यालयमा र वैद्य पक्षीय कार्यकर्ताहरुले स्वयंभूस्थित आनन्दकुटी विद्यालयमा भेला गरेका छन् । दुवै भेलामा आफूपक्षीय केन्द्रीय नेताहरु सहभागी थिए । दाहाल पक्षीय बुद्धिजिविको भनिएको भेलामा दुई सयभन्दा बढी कार्यकर्ता सहभागी थिए । भेलापछि माओवादी सचिव पोष्टबहादुर बोगटीले शान्ति र संविधानमा पार्टीले लिएको कार्यनीति कार्यान्वयनबारे छलफल भएको जानकारी दिए । उनले कुनै गुटकोमात्र भेला नभएको दाबी गरे । बिहान १० बजेदेखि दुई घण्टा चलेको भेलामा काठमाडौं क्षेत्र नम्वर २ का सभासद् झक्कुप्रसाद सुवेदीलगायत नेता सहभागी थिए ।
यसैगरी वैद्य पक्षीय कार्यकर्ताहरुले पनि शनिबार नै स्वयंभूस्थित आनन्दकुटी विद्यालयमा भेला गरेका छन् । पार्टी र जनवर्गीय गरी करिव तीन सय कार्यकर्ता सहभागी भएको भनिएको भेलामा नेताहरु देवप्रसाद गुरुङ, नेत्रविक्रम चन्दलगायतका नेता सहभागी थिए । भेलामा सहभागीहरुले संस्थापन पक्ष क्रान्तिबाट विमुख हुन खोजेको भन्दै लिगमै ल्याउन आग्रह गरेको एक सहभागीले ई-कान्तिपुरसित भने । नेताहरुले भने पार्टी फुट्ने हल्लामा सत्यता नभएको जिकिर गर्दै क्रान्तिकारी बाटो नछाड्ने दृढता व्यक्त गरेका थिए । माओवादीमा दाहाल र वैद्यसँगै अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो गुटको भेला तीब्र पारेका छन् । दुई दिनअघि गोरखामा त्यसक्षेत्रका भट्टराई पक्षधर कार्यकर्ताहरुको भेला भएको थियो ।

No comments: