News

Jun 18, 2011

प्रधानमन्त्री बन्न शेरबहादुर देउवाको दौड तिब्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अघिल्लो हप्ता काभ्रेमा भेला सकिए लगत्तै जिल्ला सभापतिहरुलाई भोज खुवाउन हतारिएका कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पछिल्लो समयमा नेता कार्यकर्ताको भेटवार्तालाई तिव्रता दिएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल भन्दै हुने गरेको भेलामा सरकारको नेतृत्वका विषयमा तात्तातो बहस हुने गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार झलनाथ खनाल नेतृत्वको सरकारलाई छिट्टै राजीनामा गर्न दबाव दिने र त्यसपछि कांग्रेसको पालो आउने भएकाले देउवालाई सर्वसम्मत उम्मेद्वार बनाउनेबारे भेलामा छलफल हुने गरेको छ । ‘यसअघि रामचन्द्र पौडेल १७ पटकसम्म पराजित भएकाले कांग्रेसले देउवालाई नै उम्मेद्वार बनाउँछ' केन्द्रीय सदस्य महेन्द्र यादवले भने – 'देउवा उम्मेद्वार हुने बित्तिकै उहाँ अरुको पनि सर्वसम्मत बन्नुहुन्छ ।'देउवा पक्षीय नेता यादवको भनाईसँग राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पनि सहमत छन् । 'सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसमा आएमा देउवाकै सम्भावना बलियो देखिन्छ' दाहालले भने – ‘शायद पौडेल अब प्रधानमन्त्रीको उम्मेद्वार बन्नुहुन्न ।’माओवादीमा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नबन्ने भनेर घोषणा गरिसकेको र बाबुराम भट्टराईलाई स्वयं प्रचण्डले बाटो छाडिदिने सम्भावना नरहेको अवस्थामा देउवाको सम्भावना देख्नेहरुको संख्या धेरै छ । त्यसो त माओवादीले समेत एकपटक देउवालाई प्रधानमन्त्रीको कार्ड फालिसकेको छ । यसले पनि उनलाई हौसाएको छ । पार्टीको आसन्न बैठकबाट संसदीय दलको नेतामा पौडेलको सट्टा आफ्नो नाम पारित गर्न उनी अग्रसर देखिएको स्रोतको भनाई छ । तर, देउवाले डाकेको भेलामा सहभागीहरु यस विषयमा कुनै कुरा नभएको दावी गर्छन् । 'सरकारको नेतृत्वबारे कुनै कुरा भएको छैन' नेता गोपालमान श्रेष्ठले भने – 'त्यस्तो अवस्था आएमा पार्टीले उपयुक्त निर्णय गर्छ ।'

No comments: