News

Jun 9, 2011

संविधानको पहिलो मस्यौदा भदौ १ गतेसम्ममा ल्याउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणका लागि गठित संवैधानिक समितिअन्तर्गत उपसमितिको बिहीबारको बैठकले संविधानको पहिलो मस्यौदा भदौ १ गतेसम्ममा ल्याउने निर्णय गरेको छ । संविधानसभाको तीन महिनाको म्याद थप गरिएपछि सिंहदरबारस्थित समितिको कार्यकक्षमा पहिलोपटक बसेको बैठकले नयाँ संविधानको मस्यौदाका लागि कार्यतालिका सार्वजनिक गरेको हो । संविधान निर्माणमा देखिएका विवाद समाधानका लागि उपसमितिले भदौ १ गतेसम्म मस्यौदा तयार गरिसक्ने गरी कार्य थालनी गर्ने समिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । संविधान निर्माणका क्रममा देखिएका सबै विवाद समाधानको टुंगो लगाउने जिम्मा पाएपछि बिहीबारदेखि उपसमिति सक्रिय भएको हो । बैठकले राज्यपुनर्संरचना, निर्वाचन प्रणाली र शासकीय स्वरुपका विवाद टुंगो लगाउन कार्यदल गठन गर्ने पनि निर्णय पनि गरेको छ । यद्यपि कार्यदलमा को-को सहभागी हुने भन्ने विषयमा भने भोलि (शुक्रबार) छलफल गरेर टुंग्याउने पनि सहमति भएको छ ।
नयाँ संविधानको मस्यौदा निर्माणका लागि उपसमितिले शुक्रबारदेखि नै तदारुकताका साथ कार्य थालनी गर्ने पनि जनाएको छ । विवाद समाधानका लागि एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित उपसमितिले विवादित विषयमा सहमति कायम गरी संविधान निर्माणको जिम्मा पाएको छ । उपसमितिलाई राज्य पुनर्संरचनासम्बन्धी समितिको प्रतिवेदनका ७८ र यसअघि २१ वटा विवादित विषयमा सहमति खोज्ने जिम्मा दिइएको छ ।

No comments: