News

Jun 25, 2011

आफ्नै अपहरणको नाटक गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजविराज (सगरमाथा), अषाढ ११ - नक्कली अपहरणकारी खडा गरी आफ्नै अपहरणको हल्ला फैलाउने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । आफ्नै अपहरणको झुटो हल्ला फैलाउने सप्तरीको नकटी रायपुर–५ निवासी २८ वर्षीय श्रीप्रसाद रामलाई प्रहरीले सार्वजनिक गरेको हो । रामलाई सार्वजनिक गर्ने क्रममा विदेशबाट कमाएर ल्याएको रु पाँच लाख बुवा–आमा तथा परिवारबाट जोगाउन आफ्नै अपहरणको झुटो हल्ला फैलाएको रहस्य पर्दाफास भएको छ । विदेशमा कमाएको पैसा फिरौतीका नाममा बुझाएको जानकारी अभिभावकलाई गराई कमाएको पैसा सञ्चित गर्ने उद्देश्यले अपहरणको नाटक गरेको उनले खुलासा गरे । रक्सीको लतमा लागेका बुवा देवकृष्ण रामले आफूले दुःख गरी कमाएको सबै पैसा सिध्याउन थालेकाले यस्तो नाटक रच्नु परेको उनको भनाइ थियो । गत बुधबार रकम निकाल्न भनी राजविराज आएका रामले मोबाइल नम्बर ९८०७७०१८०२ बाट फोन गरी श्रीमती पुनितादेवी र गाउँकै कमलप्रसाद साहलाई आफू अपहरणका परेको जानकारी दिएका थिए । त्यसपछि रामकी श्रीमती, बुवा, आमा र गाउँले कमलप्रसाद साहले सामूहिक रूपमा जिल्ला प्रहरी कार्यालय आई अपहरणको जाहेरी दर्ता गरेका थिए । जाहेरीका आधारमा खोजतलास सुरु गरेपछि शुक्रबार राम आफ्नै घरबाट फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

No comments: