News

Jun 28, 2011

चरीमाया तामाङलाई अमेरिकी सम्मान २०११ ट्राफिकिङ इन पर्सन्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १५ - महिला बेचबिखनविरुद्ध लडेकी चरीमाया तामाङलाई अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले सोमबार सम्मान गरेकी छन् । वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयले २०११ ट्राफिकिङ इन पर्सन्स (टीआईपी) प्रतिवेदन सार्वजनिक गर्ने क्रममा तामाङलाई २०११ हिरो एक्टिङ टु इन्ड मोर्डन डे स्लेभरी अवार्ड दिएको हो । चरीमाया गरिब परिवारमा जन्मिएकी थिइन् । बाबु बितेपछि झन् गरिबीतिर धकेलिइन् । १६ वर्षको हुँदा उनी भारतमा बेचिइन् । भारतको कोठीमा २२ महिना थुनिएपछि भारत सरकार र झन्डै २ सय नेपालीहरूले उनलाई १९९६ मा उद्धार गरेका थिए । मुलुक फर्किएपछि तामाङले सामाजिक लाञ्छना खेप्नुपर्‍यो र आफ्नै समुदायले बहिष्कार गरे । तर चरीमायाले साहसका साथ आफूलाई बेचबिखन गराउनेविरुद्ध जिल्ला प्रहरीमा मुद्दा हालिन् । बेचबिखन मुद्दा हाल्ने उनी पहिलो हुन् । सन् १९९७ मा जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै आठ जनालाई दोषी ठहर गर्दै सजाय सुनायो । त्यसको तीन वर्षपछि तामाङ र अन्य बेचबिखनमा परेका १५ जनाले महिला बेचबिखनविरुद्ध संस्था शक्ति समूह खोले । अमेरिकी विदेश मन्त्रालयले मानव बेचबिखनविरुद्ध अभियान चलाउने विश्वभरका १० जना छानेकामा तामाङ पनि परेकी हुन् । सीमित स्रोतसाधन भए पनि नेपालले मानव बेचबिखनविरुद्ध प्रयासमा सुधार गरिरहेको प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदनले बेचबिखन उन्मुलनका लागि न्यूनतम मापदण्ड पूर्णरूपमा अझै पालना गर्नुपर्ने पनि औंल्याएको छ । 'नेपालले केन्द्रीय अपराध अनुसन्धानको विशेष युनिट खोल्ने र यसलाई आर्थिक सहायता बढाए पनि पीडितको पहिचान हुन नसक्नु स्थायी प्रकृतिको गम्भीर समस्या हो,' वक्तव्यमा भनिएको छ । यूएसएड लगायत विभिन्न संस्थामार्फत अमेरिकाले मानव बेचबिखनविरुद्ध लड्न थुप्रै कार्यमा नेपाललाई सहयोग गरिरहेको छ ।

No comments: