News

Oct 12, 2008

नेपाली कांग्रेसलाई पुनः सत्तामा सहभागी गराउने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति पदमा सहमति कायम नभएपछि सत्ताबाहिर रहेको नेपाली कांग्रेसलाई पुनः सत्तामा सहभागी गराउने प्रयास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुरू गर्नुभएको छ। संविधानसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई सत्तामा सहभागी नगर्राई संविधान निर्माण पूरा गर्न नसक्ने अवस्था देखेपछि प्रधानमन्त्री प्रचण्डले यो प्रयास शुरू गर्नुभएको हो। तर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले यो प्रस्तावलाई अस्वीकार गरिसक्नुभएको छ। नेपाली कांग्रेसलाई सत्तामा सहभागी गराउने र संविधान निर्माण प्रक्रिया अगाडि बढाउने प्रयासस्वरूप प्रधानमन्त्री प्रचण्डले शनिबार एमाले पूर्वमहासचिव माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभयो। पूर्वमहासचिव नेपालको कोटेश्वरस्थित निवासमा भएको वार्तामा प्रधानमन्त्रीले नेपाललाई सक्रिय राजनीतिक भूमिकामा आउन आग्रह गरेको प्रचण्डले पत्रकारलाई जानकारी दिनुभयो।नेपाली कांग्रेसलाई पनि सत्तामा सहभागी गराउँदा संविधान निर्माण गर्न सहज हुने भएकाले काङ्ग्रेसलाई पनि सरकारमा सहभागी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो। सबै पार्टीलाई सरकारमा सामेल गराएर राष्ट्रिय सरकारको स्वरूप दिन, माओवादीलाई व्यवहार सुधार्न, सहकार्यको वातावरण बनाउन र सरकारी निर्णय सहमतिका आधारमा गर्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको नेता नेपालले बताउनुभयो। भेटमा प्रधानमन्त्री प्रचण्डले सत्ता सञ्चालनका लागि गठन हुने उच्चस्तरीय संयन्त्रको नेतृत्व गरिदिन वा संविधान निर्माण प्रक्रियाको अगुवाइ गरिदिन पनि नेता नेपाललाई आग्रह गर्नुभएको थियो।प्रधानमन्त्री प्रचण्डले शनिबार नै नेकपा (एकता केन्द्र मसाल) का महासचिव नारायणकाजी श्रेष्ठ (प्रकाश) र नेपाल सद्भावना पार्टी(आनन्दीदेवी) का महासचिव सरिता गिरीसँग पनि भेट गर्नुभएको थियो। भेटमा राष्ट्रिय सरकार गठनका विषयमा कुराकानी भएकोबताइएको छ।

No comments: