News

May 4, 2009

नासामा नेपाली विद्यार्थीको नयाँ पृथ्वी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कञ्चनपुरका आशिष बमले नासामा पेस गरेको नयाँ पृथ्वीमा हिमाल, पहाड र तराईको वातावरणसँग मेल खाने जंगल, जीवजन्तु, चराचुरुंगी तथा अन्य प्राणीको बसोवासको परिकल्पना छनयाँ नेपालको खाका निर्धारण गर्न नसकिएका वेला एक नेपाली विद्यार्थीले नयाँ पृथ्वीको खाका तयार गरेका छन् । कञ्चनपुरका आशिष बमले अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का लागि नयाँ पृथ्वीको खाका तयार गरेका हुन् । नासाले आयोजना गरेको 'नासा स्पेस सेटलमेन्ट कन्टेस्ट-२००९' का लागि आशिषले अन्तरिक्षमा मानव बस्ती बसाल्न सक्ने गरी 'क्यासिओपिया ओरिन्टस' नामको नयाँ पृथ्वीको स्वरूपको खाका बनाएका हुन् । उनको नयाँ पृथ्वी क्यासिओपिया ओरिन्टसले नासाका वैज्ञानिकलाई समेत प्रभावित गर्न सफल भएको थियो । भनिएको छ, 'यो राम्रो परिकल्पना छ । क्यासिओपिया ओरिन्टसले स्पेस सेटलमेन्टका लागि नयाँ वैज्ञानिक विचार दिएको छ ।' यति हुँदाहुँदै पनि आशिषको नयाँ पृथ्वी क्यासिओपिया ओरिन्टसको अवधारणा, नासा स्पेस सेटलमेन्ट प्रतियोगितामा 'कमजोर प्रविधिको प्रयोग'ले 'ग्य्रान्ड पुरस्कार' जित्नबाट भने चुकेको छ । नासाले आयोजना गरेको सो प्रतियोगितामा आशिषको क्यासिओपिया ओरिन्टस 'टप ५०' भित्र परेको छ । 'सिसाकलमले गर्दा चुकेँ,' उनले नासाले पठाएको प्रतिउत्तर देखाउँदै भने, 'सिसाकलमले कोरेकाले कतै-कतै मेटिएको रहेछ ।' नासाको प्रतिउत्तरमा पनि सिसाकलम प्रयोग गरेकाले 'जज' हरूलाई हेर्नै असजिलो भएको उल्लेख गरेको छ ।उनले सिसाकलमले अन्तरिक्षमा मानव-बस्ती बसाल्न नयाँ पृथ्वीको संरचनाको स्वरूप तयार गरेका थिए । 'थ्री डी इन्जिनियरिङ प्रोग्राम पाइएन, अनि पेन्सिलले नै बनाएँ,' आशिषले भने । सो प्रतियोगितामा भाग लिन आशिषले ५० पाना कागजमा सिसाकलमले नयाँ पृथ्वीको स्वरूप कोरेर हुलाकबाटै अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा पठाएका थिए ।बिहीबार (३१ अप्रिल-२००९) नासाको एम्स रिसर्चर सेन्टर -एएसएस) ले घोषणा गरेको प्रतियोगिताको परिणाममा आशिष 'ओनोरेवल मेन्सन'को पाँचौँ नम्बरमा परेका छन् । अब उनी एएसएसको २८औँ वाषिर्कोत्सवका अवसरमा अमेरिकाको फ्लोरिडामा आयोजना गरिने 'इन्टरनेसनल स्पेस डेभलपमेन्ट कन्फेरन्स'मा भाग लिन पाउनेछन् । मे २८-३१ मा हुने सो सम्मेलनमा उनले आफ्नो क्यासिओपिया ओरिन्टसका बारेमा संसारभरिका अन्तरिक्षसम्बन्धी अध्ययनरत वैज्ञानिकबीच प्रस्तुत गर्न पाउनेछन् । गत १६ वर्षदेखि नासाले स्पेस सेटलमेन्टसम्बन्धी विश्वव्यापी प्रतियोगिता गर्दै आएको छ । नेपाली विद्यार्थीले पनि सन् २००५, २००६ र २००७ मा प्रतिस्पर्धामा भाग लिएका थिए । तर, सो प्रतियोगितामा 'टप-५०' भित्र पर्ने आशिष पहिलो नेपाली विद्यार्थी हुन् । प्रतियोगितामा भाग लिए पनि अहिलेसम्म नासाको सूचीमा नेपाली विद्यार्थीको नाम निस्केको थिएन ।सो प्रतियोगितामा संसारभरिका कक्षा १२ सम्म अध्ययनरत आठ सय आठजना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । आधुनिक प्रविधिको सहयोगले नयाँ पृथ्वीको परिकल्पनाको स्वरूप निर्धारण गरेका संसारभरिका विद्यार्थीलाई आशिषको सिसाकलमले नै टक्कर दिएको छ । वर्षौंपछि पृथ्वी नष्ट हुन सक्ने वा पृथ्वीमा रहेको मानव चाप कम गर्न अन्तरिक्षमा नयाँ पृथ्वी बनाउन नयाँ वैज्ञानिक धारणा खोज्न नासाले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । पृथ्वीबाट कुनै पनि सामान नलगेर पृथ्वीका मान्छेलाई सुरक्षित तरिकाले अन्तरिक्षमा बसोवास गराउन नासाले स्पेस सेटलमेन्टसम्बन्धी अध्ययन गर्दै आइरहेको जनाएको छ । सोहीअनुसार अन्तरिक्षमा बसोवासका लागि आशिषले नयाँ पृथ्वी 'क्यासिओपिया ओरिन्टस' परिकल्पना गरेका हुन् । उनले सो प्रतियोगिताका लागि दस लाख मान्छेलाई बसाल्न सकिने वैज्ञानिक विचार दिएका छन् । 'यो पृथ्वीबाट केही नलगी नयाँ पृथ्वी बनाउने हो,' आशिषले भने, 'अन्तरिक्षबाटै सबै सामान ल्याउने र नयाँ क्रिएट गरेर बनाउने हो ।' उनको नयाँ पृथ्वीमा हिमाल, पहाड र तराईको वातावरणसँग मेल खाने जंगल तथा जीवजन्तु, चराचुरुंगी तथा अन्य प्राणीको पनि बसोवासको व्यवस्थाको परिकल्पना गरिएको छ । त्यस्तै, कृषि, बसोवास, औद्योगिक तथा प्रशासनिक क्षेत्रको समेत उनले छुट्टै परिकल्पना तयार गरेका छन् । 'पृथ्वीको भन्दा हाई क्वालिटीको लाइफ स्टाइल हुन्छ,' उनले आफूले प्रस्तुत गरेको नयाँ पृथ्वीका बारेमा बताउँदै भने, 'त्यहाँ सबै सुविधा उपलब्ध हुनेछ ।'करिब एक वर्षको मिहिनेतपछि आशिषले नासाको सो प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् । दुई महिना लगाएर तयार गरेको अन्तरिक्षको नयाँ पृथ्वी क्यासिओपिया ओरिन्टसका बारेमा ५० पानाको सचित्र वर्णनसहितको आफ्नो विचार यही जनवरी २० मा हुलाकबाट अमेरिका पठाएका थिए ।तीन महिनापछि मार्च २५ मा नासाले प्रतियोगितामा समावेश भएको खबर इमेलबाट उनलाई दिएको थियो । तीन दिनअघि प्रतियोगिताको परिणाम सार्वजनिक गरिएपछि उनी खुसी भएका छन् । कञ्चनपुर सुडा-८ आमथलाका आशिष महेन्द्रनगरकै सिद्धनाथ विज्ञान क्याम्पस आइएससी दोस्रो वर्षमा अध्ययनरत छन् । उनले महेन्द्रनगरकै आदर्श विद्या निकेतनबाट ०६४ मा ७५ प्रतिशत नम्बर ल्याएर एसएलसी उत्तीर्ण गरेका थिए । कक्षा पाँचदेखि नै विद्यालयमा हुने विज्ञानसम्बन्धी प्रतियोगितामा भाग लिने आशिषले दुई वर्षअघि घामबाट खाना पकाउन सक्ने प्रविधि पनि तयार गरेका थिए । सो प्रविधिका बारेमा उनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)लाई समेत जानकारी दिएका थिए । तर, नास्टले वास्ता नगरेपछि उनको प्रयास त्यत्तिकै रोकिएको थियो । अहिले नासाको स्पेस सेटलमेन्ट प्रतियोगितामा 'टप ५०' भित्र परेपछि काम गर्ने हौसला आएको आशिषले बताए ।

No comments: