News

May 6, 2009

प्रचण्डको सनसनीपूर्ण भिडियो टेप सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष प्रचण्डले १६ महिनाअघि पार्टीपंक्तिलाई दिएको प्रशिक्षणको भिडियो टेप सार्वजनिक भएको छ । सो टेपमा प्रचण्डले सत्ता कब्जा गर्न पार्टी नेतृत्वले तयारी गरिरहेको बताएका छन् । टेपमा प्रचण्डले पार्टीका केही नेताले तत्कालै सत्ता कब्जा गर्नुपर्छ भनेर दबाब दिए पनि नेतृत्व मौकाको प्रतीक्षामा रहेको बताएका छन् । उनले संविधानसभा चुनाव नभए जनविद्रोहबाट सत्ता कब्जा गर्ने बताएका छन् । १८ पुस ०६४ मा जनमुक्ति सेनालाई दिएको प्रशिक्षणमा उनले लडाकुको वास्तविक संख्या अनमिनले प्रमाणित गरेभन्दा झन्डै तेब्बर कम रहेको खुलासा गरेका छन् । 'हाम्रा वास्तविक लडाकु जम्माजम्मी सात/आठ हजार थिए होलान्, हामीले बढाएर ३५ हजार शिविरमा राखिदियौँ । करिब २० हजारलाई अनमिनले प्रमाणित गरिदियो,' प्रचण्डले भनेका छन् ।आफ्ना रणनीतिहरू पूरा हुँदै गएको दाबी गर्दै प्रचण्डले भविष्यप्रति पनि जनसेनालाई विश्वस्त पार्न खोजेका छन् । 'संविधानसभा चुनाव हुनै गाह्रो छ, भयो भने पनि जित हाम्रो हुन्छ । हामी माथि परेपछि समायोजन पनि हाम्रै हिसाबले हुन्छ,' जनमुक्ति सेनाका तत्कालीन सुपि्रम कमान्डर प्रचण्डले भनेका छन् । उनले आफ्नो पार्टीले हार्ने स्थिति आएमा संविधानसभा चुनाव हुनै नदिने रणनीतिसमेत जनसेनालाई सुनाएका छन् । उनले भनेका छन्, 'हामीले हार्ने स्थिति आयो भने हामी हुन दिँदैनौँ, कांग्रेस हार्ने स्थिति आयो भने उसले चुनाव हुन दिँदैन, एमाले बढी हुन खोजे खुट्टा भाँचेर ठीक पारिन्छ ।'भिडियो टेप सार्वजनिक भएलगत्तै माओवादीले औपचारिक प्रतिक्रिया दिएको छ । अध्यक्ष प्रचण्डले संविधानसभा र शान्ति-प्रक्रियामा जनमुक्ति सेनालाई आश्वस्त पार्न दिएको प्रशिक्षणको पुरानो भिडियो टेप अहिले सन्दर्भहीन भएको पार्टीले बताएको छ । पुरानो भिडियो टेप नागरिक सर्वोच्चता नचाहने तत्त्वहरूद्वारा वितरण गरिएको भन्दै माओवादी प्रवक्ता दीनानाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, 'भिडियो टेपलाई प्रायोजित रूपले प्रचार गरेर वर्तमान संकटपूर्ण राजनीतिक स्थितिलाई उत्तेजक र शान्ति-प्रक्रियालाई समाप्त पार्ने षड्यन्त्रपूर्ण चालबाजी भइरहेको छ ।'माओवादीले शान्ति र संविधान निर्माणप्रति पार्टीको प्रतिबद्धतामा शंका नगर्न जनतालाई आह्वान गरेको छ । 'हामी शान्ति-सम्झौताप्रति पूर्ण प्रतिबद्ध छौँ । सेना समायोजन, जनमुखी संविधान लेखन, जनताप्रतिको प्रतिबद्धता र राजनीतिक मान्यतामा स्पष्ट छौँ,' विज्ञप्तिमा भनिएको छ, 'यसप्रकारका असान्दर्भिक, उत्तेजक तथा समग्र शान्ति-प्रक्रिया र राजनीतिक प्रक्रियालाई समाप्त पार्ने प्रकारका प्रचारबाजीबाट भ्रमित नहुन आमजनसमुदायमा हार्दिक अनुरोध गर्दछौँ ।'

No comments: