News

May 11, 2009

साना पाँच दलले माओवादीको सरकार बन्नुपर्नेमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २८ - संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दलले एकीकृत माओवादीको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएका छन् । ती दलले राष्ट्रपति रामबरण यादवको कदम असंवैधानिक भएको बताउँदै माओवादी सहितको सरकार बन्नुपर्नेमा जोड दिएका हुन् ।सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा सोमबार भएको छलफलमा नेकपा संयुक्त, नेकपा एकीकृत, नेपाली जनता दल र संघीय लोकतान्त्रिक मंचका प्रतिनिधि उपस्थित थिए भने सदभावना आनन्दीदेवीले टेलिफोनबाट सहमति जनाएको थियो ।माओवादी बाहेकका दलहरु सम्मिलित सरकार गठन भए आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले अन्य दलको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुन माओवादीलाई सुझाव दिएका छन् । छलफलमा दलहरुले नागरिक सर्वोच्चता सडक तथा सदन आन्दोलनबाट स्थापना नहुने भन्दै तत्काल आन्दोलनको स्वरुप परिवर्तन गरी संसद सुचारु गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए ।नयाँ बन्ने सरकारले मुलुकमा बिद्यमान समस्याहरुलाई सम्वोधन गरी साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्ने उनीहरुको भनाई थियो । नारायणकाजी श्रेष्ठ, देब गुरुङ लगायतका माओवादी नेताहरु सहभागी छलफलमा माओवादी नेतृत्वमा सरकार गठन भए सहयोग गर्ने आश्वासन दिदै सरकारको नेतृत्व नगरे प्रतिपक्षमा बस्न माओवादीलाई सुझाव दिएको नेकपा संयुक्तका अध्यक्ष बिष्णुबहादुर मानन्धरले जानकारी दिए ।यसैबीच तराई-मधेस लोकतान्त्रिक पार्टीले एमाले र कांग्रेसको बैकल्पिक समिकरणलाई समर्थन जनाएको छ ।
एमालेको वार्ता टोलीका सदस्यहरुसँगको भेटमा तमलोपाले मधेस मुद्धालाई सम्वोधन गर्न छिट्टै अर्को उच्चस्तरीय छलफल गर्ने निष्कर्ष सहित एमालेको नेतृत्वमा बन्ने सरकारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।मधेस मुद्धामा आपसि छलफल गरेर अघि बढ्ने एमालेको प्रतिबद्धतापछि उसलाई समर्थन गरिएको तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।बैठकमा सहभागी एमाले नेता भरतमोहन अधिकारीले तमलोपाको समर्थनबारे कांग्रेससँग परामर्श गरी मधेस मुद्धाबारे दुई पक्षीय र त्रिपक्षीय छलफल गरिने बताए ।

No comments: