News

May 6, 2009

दलाल विरुद्ध प्रहरीमा किटानी जाहेरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विदेश लैजाने नाममा आफूलाई कुवेत लगेर बिक्री गर्न खोजेको भन्दै तालामाराङ-४ की आइती तामाङले दलाल महिलाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । नेपाली भाषासमेत बोल्न नजान्ने आइतीले मेलम्ची-७ की पिङमाया तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । पिङमायामाथि अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई मंगलबार नै सात दिनको म्याद दिएको छ । जाहेरी दिनासाथ दर्ता गरेर प्रहरीले आरोपी पिङमायालाई अदालत उपस्थित गराएको थियो ।आइतीले प्रहरी बयानमा पिङमायाले ललाइफकाई विदेश पठाउने नाममा बिक्री गर्न खोजेको दाबी गरेकी छिन् । गत वर्ष ससुराको मृत्यु हुँदा लागेको दस हजार रुपैयाँ ऋण तिर्ने पिरलोले आफू पहिलो उक्साहटमै विदेश जान तयार भएको उनले बयानमा बताएकी छिन् । पिङमायाले आइतीलाई रोजगारीका लागि पठाउने भनिएको कुवेत नेपाली महिला कामदारका लागि प्रतिबन्धित छ । तीन छोराछोरीकी आमा आइतीलाई विदेश पठाउन भन्दै राहदानी बनाउन पिङमायाले गत मंगलबार आफूसँगै जिल्ला प्रशासन कार्यालय ल्याएकी थिइन् । राहदानी जारी हुनुअघि परामर्शका क्रममा शंका लागेपछि शक्ति समूहको सक्रियतामा मेलम्ची-७ की पिङमाया तामाङ र मेलम्ची-८ कै शुभलक्ष्मी तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । निर्दोष देखिएपछि शुभलक्ष्मी भने सोमबार नै छुटिसकेकी छिन् । पिङमायाले आफूलाई पनि विदेश पठाउन भनेर राहदानी बनाउन सँगै ल्याएको बताएपछि उनी छुटेकी हुन् । पिङमाया आइतीको माइती घरकी आफन्त हुन् । माइत आएका वेला पिङमायाले आफैंले रकम हालेर कुवेत पठाउने बताएपछि आइती उनकै साथमा राहदानी बनाउन आएकी थिइन् । आरोपी पिङमायाले भने प्रहरीसित दोहोरो बयान दिएकी छिन् । पक्राउ पर्दा उनले प्रहरीको प्रारम्भिक बयानमा आफू वैधानिक दलाल (मध्यस्थकर्ता) को रूपमा काम गर्दै आएको बताएकी थिइन् ।प्रहरीको औपचारिक बयानमा भने उनले आफूले त्यस्तो काम नगरेको र आइतीलाई नचिनेको बताएकी छिन् । 'आरोपी पिङमायाको कुरा फेरिएर आएको छ,' मुद्दा फाँटका प्रहरी राजेन्द्र तामाङले भने । प्रहरीले दुवैको बयान सोमबार जिल्ला अदालत लगेर प्रमाणित गरेको छ ।

No comments: