News

May 2, 2009

चन्दा माग्दै गरेका सुरक्षाकर्मी नै पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १९- सिरहाको लहान नजिकैको बिएससी एण्ड सिएनसी जेभी नेपाल नामक क्रसर प्लान्टका प्रमुखसँग चन्दा माग्दै गरेका सुरक्षा अधिकारी पक्राउ परेका छन्। सिरहाको ठाडी प्रहरी चौकीमा दरबन्दी भई क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत् प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादव र सशस्त्र प्रहरी सेनामुख उदयपुरमा दरबन्दी भई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा कार्यरत हिरा यादवले धम्काएर जेभी नेपालका प्रमुखसँग चन्दा माग्दै गर्दा लहान प्रहरीले पक्राउ गरेको हो।उनीहरु सिंहसँग केही दिनदेखि फोनमार्फत् धम्की दिएर ६० हजार चन्दा माग गर्दै गरेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक श्यामल सुब्बाले बताए। पक्राउ पर्नेहरुमध्ये वीरेन्द्रको साथबाट क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। बिहीबार वीरेन्द्र हिरा र जेभी नेपालका प्रमुख एचपी सिंह बस्दै आएको निवासमा पुगी ६० हजार रुपैयाँ नदिए आफूसँग हतियार भएकाले जे पनि गर्न सक्ने भनेर सिंहलाई धम्काएको प्रहरीले जनाएको छ। शनिबार पुनः सिंहको निवास पुगी यादवद्वयले चन्दा मागिरहेकै बेला प्रहरीलाई जानकारी भएपछि दुवैलाई पक्राउ गरेको प्रहरी निरीक्षक श्यामल सुब्बाले बताए।

No comments: