News

May 2, 2009

मातृका यादवले विराटनगरमा सुरक्षाकर्मीलाई पिटेका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन्की स्वभावका माओवादी नेता मातृका यादवले विराटनगर विमानस्थलमा एक सुरक्षाकर्मीलाई पिटेका छन् । जनकपुरबाट विराटनगर आउने क्रममा शुक्रबार बिहान ६ बजे विराटनगर विमानस्थलको मुख्य प्रवेशद्वारमा उनले सुरक्षाकर्मीमाथि हातपात गरेका हुन् ।जनकपुरबाट बिहीबार बुद्ध एयरको विमान हुँदै काठमाडौं प्रस्थान गरे पनि मौसमअनुकूल नभएपछि बुद्ध एयरले मातृका चढेको विमानलाई विराटनगर विमानस्थलमा सोही दिन राति अवतरण गरेको थियो । उनी राति नै पार्टीका जिल्ला इन्चार्ज विजय कामतको ब्रह्मपुरीस्थित घरमा बास बसे । उनले विमानस्थलका सुरक्षा इन्चार्ज मोहन राईलाई आफ्नो मोबाइल नम्बर दिएर विमान उड्ने समयका बारेमा खबर गर्न भनेका थिए । उनी शुक्रबार बिहान ६ बजे आफ्ना कार्यकर्ताका साथ मोटरसाइकलमा विमानस्थल गइरहेका थिए । विमानस्थलको मुख्य प्रवेशद्वारमा दुईजना सुरक्षाकर्मीमध्ये प्रहरी जवान विनोद चौधरीले उनी चढेको को४प ५९५५ नम्बरको मोटरसाइकललाई रोकी टिकट र ब्याग जाँचका लागि अनुरोध गरेको थियो । चारवटा मोटरसाइकल एकै ठाउँ रोकिएपछि मातृकाले मोटरसाइकलबाट ओर्लिएर प्रहरीजवान चौधरीलाई हप्काएका थिए । विमानस्थल सुरक्षा इन्चार्ज मोहन राईका अनुसार मधेसीलाई टिकट चेक गर्छस् भन्दै मातृकाले प्रहरीजवान चौधरीको सर्टको कलर समातेर माथि उचालेर लडाएका थिए ।घटनापछि मोटरसाइकलमा रहेका सबै कार्यकर्ताले प्रहरीजवान चौधरीलाई कुटपिट गरे । चौधरीको छातीमा चोट लागेको छ । मातृकाका कार्यकर्ता विजय कामतले 'म मातृकालाई चिन्दिनँ' भनेर प्रहरीजवान चौधरी जवाफ फर्काएपछि नेता आक्रोशमा आउनुभएको बताए । घटनापछि मातृका विमानस्थलको अति विशिष्ट कक्षमा पसेका थिए । विमानस्थल इन्चार्ज राई मातृकालाई भेट्न विशिष्ट कक्ष पुगेपछि पहाडेलाई पनि टिकट चेक गर्नुपर्छ भन्दै उनले हप्काएका थिए ।घटनाको बारेमा मोरङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले प्रहरीले उच्च ओहदामा पुगेका व्यक्तिबाट यस्तो दुर्व्यवहार हुनु दुखद रहेको बताए । विमानस्थल प्रवेश गर्ने जो-कोहीलाई प्रहरीले झोला, टिकट चेकजाँच गरिरहेको भन्दै माझीले यसमा कसैलाई पहाडे, मधेसी भनेर नछुट्याउन स्पष्ट पारे । आफ्नो सन्की स्वभाव र उदण्ड शैलीका कारण पटक-पटक विवादमा आउने नेता यादवले बिहीबार धनुषाका स्थानीय विकास अधिकारीमाथि दुर्व्यवहार गरेका थिए ।

No comments: