News

May 11, 2009

माओवादी लडाकुको पुनः प्रमाणीकरण गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसका सभासद्हरूले माओवादी लडाकुको पुनः प्रमाणीकरण गर्न माग गरेका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको संसदीय दलको बैठकमा बोल्दै उनीहरूले नेपाल सरकार, नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायलाई समेत माओवादीले झुक्याएको आरोप लगाए ।जनताले तिरेको राजस्वबाट माओवादीले हतियार खरिद गरेको भन्दै कांग्रेस सभासद्हरूले अवास्तविक सेनाको नाममा गएको रकम माओवादीबाट असुल्नुपर्ने मागसमेत गरे । तत्कालीन सरकारमा रहेका नेताहरू रामचन्द्र पौडेल र डा. रामशरण महतको उनीहरूले तीव्र आलोचना गरेका थिए । सभासद् नवीन्द्रराज जोशीले माओवादी लडाकु र हतियारसंख्या बराबर हुनुपर्ने बताए । राष्ट्रपतिको कदमले मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन सफल भएको धारणा राख्दै उनले १८ दलबीच भएको सहमति जनतामाझ ल्याउन माग गरे । केन्द्रीय सदस्य एवं सभासद् महालक्ष्मी उपाध्याय 'डिना'ले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनतालाई झुक्याएको आरोप लगाउँदै माओवादी लडाकुको पुनः प्रमाणीकरण गर्नुपर्ने बताइन् । उनले पनि 'एक हतियार एक सेना'को नीतिअनुसार नै प्रमाणीकरण हुनुपर्नेमा जोड दिइन् । उपाध्यायको भनाइ थियो, 'माओवादीविरुद्ध लड्नका लागि कांग्रेसले अब छुट्टै शक्ति निर्माण गर्नुपर्छ ।'कांग्रेस सचेतक शोभाकर पराजुलीले लडाकुको नाममा लगेको अनावश्यक रकम माओवादीसँग असुल्नुपर्ने बताए । संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले माओवादीका लडाकुहरूको प्रमाणीकरण गर्दा छाती र उचाइ मात्र हेरेको भन्दै हतियारको संख्याअनुसार नै माओवादी लडाकुको संख्या निर्धारण हुनुपर्ने धारणा उनले राखेका थिए । 'माओवादी लडाकुको अहिलेको संख्यालाई कुनै पनि हालतमा मान्यता दिन सकिँदैन,' उनले भने । तत्कालीन सरकारमा सहभागी नेताहरूप्रति समेत सभासद्हरूले रोष प्रकट गरेपछि पार्टी उपसभापतिसमेत रहेको पौडेलले विगतमा माओवादीले आफूहरूलाई छलेको बताएका थिए । उनले अनमिन र सर्वदलीय बैठकमा समेत पुनः प्रमाणीकरणको विषयलाई उठाउने आश्वासन सभासद्हरूलाई दिएका छन् । पौडेलले राष्ट्रपति यादव संविधानको रक्षा र संरक्षण गर्ने पहिलो राष्ट्रप्रमुख भएको दाबी गर्दै राष्ट्रपतिको कदमको पक्षमा देशव्यापी छलफल र बहस चलाउने बताए । अन्य राजनीतिक दलहरूसँग समेत छलफल गरेर बहस र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने आश्वासन उनले सभासद्हरूलाई दिएका थिए ।

No comments: