News

May 3, 2009

थरुहट बन्दको एघारौँ दिन झडपमा बटुवा र प्रहरी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थरुहट संयुक्त संघर्ष समितिले गरेको बन्दको एघारौँ दिन तराईको जनजीवन अस्तव्यस्त बनेको छ । बन्दका क्रममा रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बन्दकर्ता र प्रहरीबीच झडप हुँदा रौतहटमा करिब एक दर्जन प्रदर्शनकारी, बटुवा र प्रहरी घाइते भएका छन् । थरुहटका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । बन्दकर्ताले रौतहटको चन्द्रनिगाहपुरमा शनिबार बिहान चारवटा सवारीसाधनमा आगजनी गरेका थिए । आगजनीपछि स्थानीय राजपैठा गाउँमा प्रवेश गरी प्रहरीले अभद्र व्यवहार गरेको गाउँलेले बताए । त्यसको विरोधमा थरुहटका कार्यकर्तासहित स्थानीयले दिउँसो गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । झडपमा करिब दर्जन प्रदर्शनकारी र बटुवासमेत घाइते भएका छन् । घाइते हुनेमा जयनारायण चौधरी, धरमनाथ चौधरी, भूमध्य चौधरी, सुमित्रा चौधरी, मंगल पटेललगायतका बटुवा छन् । बिहान राजपैठामा प्रवेश गरेका प्रहरीमध्ये हवलदार तिलक गुरुङ र जवान गोपी चौधरी स्थानीयको प्रतिकारमा घाइते भएका छन् । बन्दकर्ताले सवारीसाधनमा आगजनी गरेपछि गाउँ पसेको प्रहरीले गाउँलेमाथि जथाभावी लाठी प्रहार तथा महिलालाई अभद्र व्यवहार गरेको स्थानीय बासिन्दाले बताएका छन् । गाउँमा पसेको दंगा नियन्त्रण टोलीले चामलसमेत लुटेको स्थानीय विनोद चौधरीले बताए । थरुहटका कार्यकर्ताले बिहान चार बजे लालबन्दीबाट काठमाडौं जाँदै गरेको ना.१ख२१०५ र बा.२ख३०५५ नम्बरको टाटासुमो, ना.२ख५५६७ नम्बरको ट्रक र नम्बर खुल्न नसकेको भारतीय नम्बर प्लेटको जिपमा आगजनी गरेका थिए । थरुहट संघर्स समिति रौतहटका अध्यक्ष अधिकलाल चौधरीले शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले दमन गरेको आरोप लगाए । उनले थारू आन्दोलन दबाउने नाममा सुरक्षाकर्मीले गरेको दमन सैह्य नहुने पनि बताए । यसैबीच, थारूको प्रदर्शनमा दमन नगर्न कांग्रेस, एमाले निकटका विभिन्न संगठनले विरोध गरेका छन् । उनीहरूले शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

No comments: