News

May 10, 2009

माधवकुमार नेपाललाई भावी प्रधानमन्त्री बनाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमालेले अवसर पाए वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । एमाले नेतृत्व नमाने माओवादीविनाकै सरकार बनाउने टुंगो पनि पार्टी केन्द्रले गरेको छ । राष्ट्रपतिको कदमबारे एमालेले मौनता राखेको छ । 'इस्यु अदालतमा भएकोले अहिले पार्टीले धारणा बनाउन नमिल्ने' लाइन एमालेले अघि सारेको छ । तर, पार्टीनेता नेपालको नेतृत्वको सरकार बनाउन भने सहकर्मी दलहरूलाई आह्वान गर्ने निर्णय भएको छ ।नेपालको नेतृत्वमा सरकार बनाउन अन्य दलको सहयोग जुटाउन पार्टी अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा नौ सदस्यीय कार्यदल पनि बनेको छ । कार्यदलमा वरिष्ठ नेता नेपाल, केपी ओली र महासचिव ईश्वर पोखरेलसमेत छन् । कार्यदलले आफ्नो नेतृत्वको सरकार बनाउन कसरत गर्ने र न्यूनतम साझा कार्यक्रमसमेत तय गर्ने भएका छन् । 'एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोगका लागि अन्य सहकर्मी दलहरूसँग पनि आग्रह गर्दछौँ,' सचिव शंकर पोखरेलले भने । तर, एमालेको नेतृत्वमा सरकार बन्ने स्थिति परिपक्व नभएसम्म नेता नेपालको नाम सार्वजनिक नगर्ने सहमति पनि बैठकले गरेको छ । बैठकमा बोल्ने अधिकांश सदस्यले राजनीतिक संकट समाधानका लागि एमालेले माओवादीसहितको राष्ट्रिय सरकार निर्माणका लागि पहल गर्नुपर्ने मत राखेका थिए । तर, सरकारको नेतृत्व भने एमालेले नै गर्नुपर्ने उनीहरूको धारणा थियो । राजनीतिक संकट समाधानबारेको कार्यसूचीअन्तर्गत एमालेका केन्द्रीय सदस्यहरूले बोल्ने क्रम शनिबार सकिएको छ । आइतबारको बैठक पोलिटब्युरो सदस्यको निर्वाचनको एजेण्डामा प्रवेश गर्नेछ ।

No comments: