News

May 7, 2009

माओवादी अध्यक्ष दाहाललाई गिरिजाप्रसादको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २४ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आगामी सरकारको नेतृत्वको लागि एमालेलाई सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले एमालेको नेतृत्वको सरकारमा सामेल हुन वा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन माओवादी अध्यक्ष समेत रहेका दाहाललाई आग्रह गरे ।महाराजगंजस्थित कोइराला निवासमा अपरान्ह करिब एक घण्टासम्म भएको दुई नेताबीचको छलफलमा कोइरालाले शान्ति, सहमति र सहकार्यलाई माओवादीले रणनीति बनाएका कारण अहिले राजनीतिक संकट उत्पन्न भएको बताएको भेटमा सहभागी एक नेताले बताए ।प्रतिउत्तरमा दाहालले शान्ति र बहुदलीय राजनीतिक प्रतिष्पर्धामा आफूहरु आइसकेकाले शंका नगर्न आग्रह गरेका थिए । दाहालले नागरिक सर्वोच्चता विपरित राष्ट्रपतिले चालेको कदम कुनैपनि हालतमा फिर्ता हुनुपर्ने पार्टीको अडान कोइराला समक्ष राखेका थिए । उनले राष्ट्रपतिको कदम सच्चिएपछि मात्र नयाँ ढंगले सहमति गरी अघि बढ्न सकिने बताएका थिए ।उनले नागरिक सर्वोच्चताको पक्षमा लागेर राष्ट्रपतिको कदम फिर्ता गराउन सहयोग गर्न पनि कोइरालालाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिए ।कांग्रेस सभापति कोइरालाले राजनीतिक संकट समाधानका लागि लचिलो भएर सहमतिका साथ अघि बढ्न दाहाललाई आग्रह गरेका थिए । एमालेको नेतृत्वमा सबै मिलेर सरकार गठन गर्न कांग्रेसले प्रस्ताव राखेको र दाहालले यसबारे सोचौला भन्ने जवाफ दिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले छलफललाई निरन्तरता दिने सहमति भएको पनि बताए ।

No comments: