News

May 8, 2009

एमालेकै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले एमालेकै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । सरकारको नेतृत्व गर्ने एमाले नेताको नाम कांग्रेसले पर्खिएको सिटौलाले बताएका छन् । 'एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुनेमा निश्चिन्त हुनुहोस्,' सिटौलाले राजधानीमा बिहीबार भने, 'सरकार गठन गर्न चालिएका गृहकार्य सकारात्मक दिशातर्फ उन्मुख हुँदै छन् ।' सरकार गठनको गृहकार्यका लागि सिटौलाले बुधबार बिहान प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेका थिए । सिटौलाले भरसक एकीकृत माओवादीसहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उल्लेख गर्दै त्यसो नभए संयुक्त सरकार बन्नेसमेत बताए । माओवादी सहमतिमा आए पनि अब उसकै नेतृत्वमा सरकार बन्न नसक्ने सिटौलाको भनाइ थियो । माओवादी गल्तीका कारण प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विघटन भइसकेको उल्लेख गर्दै सिटौलाले अब माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने जिकिर गरे । उनले भने, 'एमालेको नेतृत्वमा सरकार गठन हुने टुंगो लागिसकेको छ ।' माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि माओवादीले सदन अवरुद्ध गर्नु अर्थहीन र अपरिपक्व व्यवहार भएको सिटौलाको भनाइ थियो । उनले प्रश्न गरे, 'माओवादी कसको पक्षमा रोस्ट्रम घेराउ गर्दै छ ?' अर्को प्रधानमन्त्री आउने ढोका थुनेर अन्योल सृजना नगर्न उनले माओवादीलाई आग्रह गरे । सिटौलाले सेनापति कटवाललाई थमौती गर्ने राष्ट्रपतिको कदम देशलाई दुर्घटनाबाट बचाउन उपयोगी सावित भएको बताए । राष्ट्रपतिले आफ्नो ठाउँमा बसेर नागरिक सर्वोच्चतालाई जोगाएको पनि उनको दाबी थियो । उनले भने, 'राष्ट्रपतिले नागरिक सर्वोच्चतालाई जोगाउन भूमिका निभाउनुभएको छ, उहाँले नगरेको भए देशमा एकदलीय सर्वसत्तावाद आउँथ्यो । माओवादी सरकार उसकै कारण ढलेको सिटौलाले टिप्पणी गरे । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले बारम्बार सेनापति नहटाउन भन्दा पनि जबर्जस्ती अघि बढ्दा माओवादीका लागि प्रत्युत्पादक सावित भएको बताए । उनले भने, 'माओवादी सरकार उसैको कारण ढलेको हो, हामी त लामो समय जाओस् भन्ने चाहन्थ्यौँ ।' प्रधानमन्त्रीले बारम्बारको भेटमा दलहरूसँग सहमति गरेर सेनापतिको निर्णय लिन्छु भन्ने गरेको, तर माओवादी सचिवालयले तत्काल कारबाहीको निर्णय गरेको उल्लेख गर्दै सिटौलाले माओवादीले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । उनले भने, 'लोकतन्त्रमा एउटा दलको मात्र मनोमानी हुँदैन, अरूको कुरा पनि सुन्नुपर्छ ।' माओवादी अध्यक्ष प्रचण्डको टेप प्रकरणलाई आफूले सामान्य रूपमा लिएको बताए । बन्दुक बोकेका कार्यकर्तालाई रूपान्तरण गर्न बोलेको भन्दै त्यसले आमजनतामा भन्दा माओवादीभित्रै सनसनी मच्चाएको हुन सक्ने बताए ।

No comments: