News

Sep 8, 2009

टासी भुटिया बेलायतको दोस्रो नेपाली काउन्सिलर बने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, भदौ २३ - भूपू गोर्खाली टासी भुटिया बेलायतको दोस्रो नेपाली काउन्सिलर बनेका छन् । ५४ वर्षीय भुटियाले केन्ट काउन्टी अन्तर्गत लुटन र वे फिल्ड वार्डबाट काउन्सिलर पद जितेका हुन् ।कन्जरभेटिभ पार्टीबाट लडेका भुटियाले गत बिहीबार भएको निर्वाचनमा चार मत बढी (१०४२) ल्याएर त्यस क्षेत्रमा पकड जमाएको लेबर पार्टीका उम्मेदवारलाई हराए । सन् २००३ र २००७ मा समेत भिडेका उनले दुवै पटक लेबरसँग पराजय भोग्नुपरेको थियो । उनको कार्यकाल २०११ मेसम्म रहनेछ । उनले मंगलबार चिफ एक्जुकेटिभबाट शपथ लिनेछन् । कडा प्रतिस्पर्धाबीच काउन्सिलरमा जितेपछि भुटियाले गर्व महसुस गरेको बताए । 'एउटा नेपाली यो स्थानसम्म पुग्दा ज्यादै खुसी छु,' भुटियाले कान्तिपुरसँग भने, 'स्थानीय समुदायको विश्वास जित्न मैले धेरै काम गर्नु छ ।' उक्त वडामा हुने समाजविरोधी गतिविधि र ट्राफिक समस्यातिर आफ्नो ध्यान खिचिने उनले योजना सुनाए । आफू भूपू गोर्खा भएको नाताले गोर्खाली मुद्दामा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 'गोर्खा समस्या सम्बन्धित ठाउँ पुर्‍याइदिन म सदा तत्पर छु,' उनले भने । वृद्धवृद्धालाई काउन्सिलबाट सहयोग उपलब्ध गराउन पनि आफू सक्रिय हुने उनले सुनाए । उनले जितेको वडामा अरू नेपाली भने छैनन् । भुटिया आठ वर्षदेखि कन्जरभेटिभ पार्टीको क्रियाशील सदस्य छन् । अभिनेत्री जोआना लुम्लीको गोर्खा अभियान सफल भएपछि मतदाताहरू गोर्खालीप्रति आकषिर्त भएको अनुमान राजनीतिक विश्लेषकहरूको छ ।दार्जिलिङमा अध्ययन गरेका भुटिया सन् १९७४ मा बि्रटिस आर्मीमा भर्ती भएर सन् १९८० मा 'डिस्चार्ज' भएका थिए । त्यसपछि डिसेम्बर १९८० देखि बेलायतमै छन् उनी । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । यसअघि सन् २००७ मा लिब्डेमबाट झापाका धन गुरुङ पहिलो फोकस्टन काउन्सिलर भएका थिए । गुरुङ पनि भूपू गोर्खाली हुन् ।

No comments: