News

Sep 10, 2009

मोबाइल पड्किएर एक प्रहरी परिचरको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, मोबाइल पड्किएर एक प्रहरी परिचरको मृत्यु भएको छ। क्षेत्रीय प्रहरी अस्पताल कारकाँदोमा कार्यरत प्रहरी परिचर दलबहादुर रोकाको मोबाइल पड्किएर मृत्यु भएको हो। घटना प्रकृतिका आधारमा उनको मृत्युलाई रहस्यमय मानिएको छ। बुधबार बिहान कारकाँदो-९ लग्दहवामा मृत अवस्थामा फेला परेका उनी मंगलबार अस्पतालको डयुटी सकेर फर्किएका बेला विस्फोटको आवाज आएको बताउने स्थानीय बासिन्दाले मृत्युलाई रहस्यमय मानेका छन्। बाँके कम्दी-६ का २६ वर्षीय रोकाको मृत्युको घटनालाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले अनुसन्धानपछि मात्र यकिन गर्न सकिने बताउनुभयो।रोकाको छातीमा मोबाइलको स्त्रिन टच पिनले गहिरो चोट लागेको र मोबाइलकै खोलको प्लास्टिकले मुटु फुटाएकाले मृत्युको कारण विस्फोट नै भएको हुन सक्ने प्रहरीको अनुमान छ। उनको छातीमा कपडासमेत पोलिएको छ। चाइनिज मोबाइल सेट टुक्राटुक्रा अवस्थामा फेला परेको छ।गोली लागेको भए पछाडि पनि घाउचोट देखिनुपर्ने भन्दै घटनास्थल पुगेका प्रजिअ वीरेन्द्र बानियाँले भन्नुभयो- ‘मोबाइल विस्फोटबाट मृत्यु भएको हुनसक्ने सम्भावना बढी छ।’ भेरी अञ्चल अस्पतालमा पोस्टमार्टम गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। एक भूमिगत सशस्त्र समूहले रोकालाई गोली हानेर हत्या गरेको दाबी गरेको छ। उनको दाबीअनुसार मृतकको शरीरमा गोली नभेटिएको प्रजिअ बानियाँको भनाइ छ।

No comments: