News

Sep 14, 2009

अन्दोलनको आँधीबेहरी गरे पनि सरकार नढल्ने दाबी - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, भदौ २८ गते । प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले जस्तोसुकै अन्दोलनको आँधीबेहरी गरे पनि सरकार नढल्ने दाबी गर्नुभएको छ । संविधानसभाको निर्वाचनबाट आएका २२ दलको समर्थन पाएको वर्तमान सरकार माओवादीको उग्रआन्दोलनबाट कुनै हालतमा ढल्न नसक्ने बताउनुभयो । एमाले चितवनको पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले यही सरकारले नयाँ संविधान निर्माण गरी नयाँ चुनाव सम्पन गराउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, "सरकार ढाल्नलाई माओवादीले सडकमा जति सिँगौरी खेले पनि शान्ति प्रक्रियालाई टुंगोमा नपुर्‍याई र संविधान नबनाई यो सरकार ढल्नेवाला छैन, यसमा कसैले शङ्का लिनुपर्दैन ।" २२ दलको समर्थन र साथ पाएको सरकारले जनचाहनाबमोजिम काम गर्न सफल भएर छाड्ने भएकाले सरकार ढल्छ भनेर फिँजाएको नचाहिने हल्लाप्रति नदौडिन सबैलाई अनुरोध गर्नुभयो । पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले माओवादी सरकारमा आए प्रधानमन्त्रीको पदबाहेक अन्य जुनसुकै पदमा समावेश गर्न तयार भएको बताउनुभयो । उहाँले "यो सरकार सबै दललाई मिलाएर सँगै हिँड्न चाहन्छ, हामीले मओवादीलाई पटकपटक भन्दै आएका छौँ, यो सरकारमा सहभागी हुनुहोस् सरकारमा सहभागी गराउन जस्तोसुकै बलिदान दिन पनि तयार छौँ तर प्रधानमन्त्रीको पदबाहेक ।"
माओवादीको आन्दोलनप्रति असन्तुष्टि प्रकट गर्दै प्रधानमन्त्री नेपालले भन्नुभयो, "लखनऊमा प्रचण्डले माधव नेपालको हात समाएर लौन तपाईं नभई भएन, समभदारी गराँै, हतियारको आन्दोलनबाट हामी टाढा हुन चाहन्छाँै भन्ने, अहिले त्यही प्रचण्ड माधव नेपालको नामै सुन्न नचाहने ।" पहिला एकथरि कुरा पछि अर्कोथरि कुरा गर्ने दो चरित्रको पार्टी पनि सच्चा कम्युनिस्ट पार्टी हुन नसक्ने बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो "झुठा, अमर्यादित, अराजनीतिक र लोकतन्त्रविरोधी काम गर्दै जाने हो भने माओवादी पार्टी अन्त्यमा कम्बोडियाको पोल्पोट बन्छ, यसमा उसले विचार पुर्‍याओस् ।" हिजो एमालेसहितको सरकार बन्दा माओवादीलाई लोकतान्त्रिक सरकार हुने आज ऊबाहेकको सरकार हुँदा कठपुतली सरकार हुने यो कस्तो तर्क हो ? उहाँले भन्नुभयो, "आवेशमा आएर माओवादीले राजीनामा दियो, सरकार छाड्नाको पीडाले अहिले प्रचण्ड सडकमा रोएर हिँडेका छन् । रुँदैमा केही हुँदैन, आफ्नो बानी सुधारेर आए हामी सहर्स स्वीकार्न तयार छौँ तर उनीहरूले बानी सुधार्नुपर्छ ।"आफूले केही गल्ती नगर्न र अरूले अनावश्यक रूपमा दुःख दिए भने नडराउन पनि प्रधानमन्त्री नेपालले पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उहाँले एमालेभित्र बसेर यो सरकारको विरोध गर्नु माओवादीको पुच्छर भएको भन्दै त्यस्ता माओवादी चरित्रका व्यक्ति एमाले पार्टीका लागि घातक भएको बताउनुभयो ।

No comments: