News

Sep 14, 2009

प्रचण्ड हङकङ आईपुगेदेखि नै गोप्य बैठकमा व्यस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
भाद्र २९ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल हङकङ आईपुगेदेखि नै गोप्य बैठकमा व्यस्त छन् । उनी ड्रागन एयरको उडानबाट पत्नी सीता, विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र सदस्य मनोज थापाका साथ सोमबार यहाँ आइपुगेका हुन् ।अध्यक्ष दाहाल आउने जानकारी पाएपछि हङकङस्थित नेपाली महावाणिज्यदूतावासका कर्मचारी सरकारी सवारी साधनका साथ विमानस्थलमा पुगेका थिए । तर, दाहाल भने आफ्नै कार्यकर्ताले व्यबस्था गरेको गाडीमा आए । शीर्ष नेता हङकङ आउने कुरा महिना दिनअघिदेखि नै चर्चामा थियो । को आउने हुन् थाहा थिएन । स्वागतको तयारी भने भइरहेको थियो ।दाहालको हङकङ प्रस्थान बारे भने अधिकांशले संञ्चारमाध्यमहरुमा समाचार छापिएपछि मात्र जानकारी पाएका हुन् । दाहाल यहाँ रहेका आफुनिकट मुख्य कार्यकर्ताहरु सँग छलफलमा व्यस्त रहेको एक सहभागीले बताए ।'परराष्ट्र मन्त्रालयले उहाँ आउने जानकारी गराए बमोजिम लिन गएका थियौ' दूतावासका कार्यवाहक महाबाणिज्यदूत सुशिलकुमार लम्साल भने, 'उहाँले पर्दैन भनेर फर्काउनु भयो ।' दाहालको बसाई र कार्यतालिका गोप्य राखिएको छ । 'कस्को निम्तोमा कुन उद्देश्यले आउनु भएको हो ? कहाँ बस्नुभएको छ ? हामीलाई कुनै जानकारी गराईएको छैन' महाबाणिज्यदूत लम्सालले भने ।'स्थानीय कार्यकर्ताहरुलाई प्रक्षिक्षण दिन आउनु भएको हो,' उनीसँगै आएका विदेश विभाग सदस्य मनोज थापाले फोनमा भने, 'माओवादीमा प्रवेश चाहने नयाँ कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम पनि छ ।' अचानक अध्यक्ष दाहालको हङकङ आगमनलाई अधिकांशले अर्थपूर्ण मानेका छन् । सदस्य थापाले दाहालको भ्रमण गोप्य नभएको बताए ।'थाक्नु भएकाले सार्वजनिक हुन नचाहनु भएको हो,' उनले भने । अध्यक्ष दाहाल बुधबार साँझ हङकङका नेपालीहरु माझ आफ्नो भनाई राख्ने तयारीमा रहेको समेत उनले जानकारी दिए । 'त्यसका लागि समेत पार्टी कार्यकर्ताहरु बीच छलफलमा व्यस्त हुनुहुन्छ' उनले भने ।

No comments: