News

Sep 7, 2009

प्रधानमन्त्री नेपाललाई माओवादी कार्यकर्ताले कालोझण्डा देखाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २२ - प्रधानमन्त्री माधवकुमार नेपालले आफू उपस्थित भएका सार्वजनिक कार्यक्रममा प्रमुख विपक्षी दल एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले कालोझण्डा प्रदर्शन गरेको घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्। गोकर्णस्थित यज्ञडोल सहिद स्मृति पार्कको शिलान्यास गर्न सोमबार त्यहाँ जानेक्रममा प्रधानमन्त्री नेपाललाई माओवादी कार्यकर्ताले बाटोको दुवैतिर उभिएर कालोझण्डा देखाए।
यस्तै घटना शनिबार फर्पिङमा आयोजित मनमोहन स्मृति अस्पतालको शिलान्यास गर्न जाँदा र केही दिनअघि धरानमा आयोजित नेकपा एमालेको अञ्चलस्तरीय भेलामा जाँदासमेत भएको थियो। नागरिक सर्वोच्चता कायम गराउनेतर्फ वर्तमान सरकार असफल भएको आरोप लगाउँदै एकीकृत नेकपा (माओवादी)ले राष्ट्रपतिको कदमका सम्बन्धमा संसदमा छलफल गराउन दबाब दिने उद्देश्यले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कालोझण्डा देखाउने घोषणा गरिसकेको छ।"कालोझण्डा देखेपछि हिजो के गरेँ भनेर मैले केहीबेर सोचेँ, हिजैमात्र माओवादी लडाकूलाई कसरी सामाजिक जीवनयापनमा लैजानसकिन्छ भनेर सेना समायोजन विशेष समितिको बैठक गरेँ" यज्ञडोलमा आयोजित कार्यक्रममा उनले भने-"त्यो निर्णय माओवादीकै पक्षमा थियो, तर उनीहरूले मेरै विरुद्धमा आज कालोझण्डा देखाए।"सहिद पार्क शिलान्यासमा आउँदा माओवादी कार्यकर्ताले समेत जयजयकार गर्लान् भन्ने ठानेको बताउँदै प्रधानमन्त्री नेपालले दुःखेसो गरे-"मैले जे गर्दा पनि काँडामात्र देख्ने माओवादीको यो कस्तो संस्कार हो मैले बुझ्न सकिन।" राम्रो कामको समर्थन गर्ने र नराम्रा काम भएमा स्वस्थ आलोचना गर्ने बानी बसाल्न माओवादीसँग आग्रह गर्दै प्रधानमन्त्री नेपालले असल काममा कोही लागेको छ भने सहयोगी हात फैलाउनुपर्ने बताए। सरकारले सयदिनको अवधि सफलतापूर्वक आरोहण गरेको र यो पहिलो बिसौनी हो भन्दै उहाँले शान्तिप्रक्रिया, संवैधानिक समितिको निर्वाचन र विकास निर्माणका तीन महत्वपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेको बताए। प्रधानमन्त्रीले भने-"शान्ति प्रक्रियामा हामीले सैद्धान्तिक प्रतिबद्धता पूरा गरेका छौं, शान्तिप्रक्रियासँग सम्बन्धित विषयमा माओवादीसँग गतिलो आधार तयार भएको र सेना समायोजन विशेष समितिलाई पूर्णता दिन माओवादीले देखाएको तत्परतालाई म स्वागत गर्दछु।"ध्वंसको बाटो सधैँ काम नलाग्ने भएकाले त्यसलाई तत्काल त्याग्न माओवादीलाई आग्रह गर्दै प्रधानमन्त्री नेपालले भने-"सधैँ पीडामा बसेर के गर्ने, सरकारबाट बाहिरिएकोमा शोक मानेर बस्नुपर्ने आवश्यकता छैन, धारे हात लगाउने र सबैका हातमा बन्दुक चाहिन्छ भन्नेजस्ता अभिव्यक्ति दिन छाड्नूस्।"

No comments: