News

Sep 24, 2009

बाराक ओबामासँग प्रधानमन्त्री माधवकुमार नेपालको भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसंघीय शान्तिसेनामा अहिलेभन्दा बढी नेपाली सेना सहभागी गराउन नेपाल तयार रहेको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको ६४औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री नेपालले अमेरिकी राष्ट्रपति बाराक ओबामाले संयुक्त राष्ट्रसंघीय शान्तिसेनामा सहभागी रहेका प्रमुख १० राष्ट्रका राज्य तथा सरकारप्रमुखहरूका लागि बुधबार आयोजना गर्नुभएको कार्यक्रममा सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो।शान्तिसेनामा योगदान गर्ने पाँचौं ठूलो राष्ट्रको हैसियतले नेपाल संयुक्त राष्ट्रसंघको आहवानमा शान्तिकार्यमा संलग्न रहने कार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो- ‘शान्तिसेनाको डफ्फालाई आवश्यक पर्ने बन्दोबस्ती सामानको सहयोग पाएमा अहिलेभन्दा बढी संख्यामा शान्तिसेना सहभागी गराउन सक्नेछौं, जसको अभाव हामीलाई खट्केको छ।’ सन् १९५५ मा राष्ट्रसंघको सदस्यता लिएपछि पाँच दशकभन्दा लामो समयदेखि नेपालले निरन्तर शान्तिसेनामा भाग लिँदै आएको छ। प्रधानमन्त्री नेपालले ओबामालाई सुरक्षापरिषद्को अध्यक्ष राष्ट्रका हैसियतले भन्नुभयो- ‘तपाईंको नेतृत्वमा राष्ट्रसंघीय शान्तिकार्यलाई सुधार गर्न आवश्यक कदमहरूप्रति सहमति निर्माण गर्दै अघि बढ्न सकिनेछ भन्ने हाम्रो अपेक्षा छ।’ उहाँले बुधबार नै बुर्किनोफासो र इथियोपियाका राष्ट्रपतिद्वारा संयुक्तरूपमा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रममा पनि सम्बोधन गर्नुभयो। प्रम नेपाल बुधबार नै राष्ट्रसंघका महासचिव बान कि मुनले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुभयो। त्यस्तै उहाँ बुधबार नै अमेरिकी राष्ट्रपति ओबामाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो।

No comments: