News

Sep 17, 2009

माओवादी लडाकुको कार्यविधि बिशेष समितिलाई प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १ - माओवादी लडाकुको रेखदेख, नियन्त्रण तथा निर्देशन कार्यविधि प्राविधिक समितिले बिशेष समितिलाई प्रस्तुत गरेको छ । उक्त कार्यविधिमा माओवादी सेनालाई पार्टीको चेन अफ कमाण्डबाट छुट्याएर बिशेष समितिको नियन्त्रणमा ल्याउने प्रकृया उल्लेख गरिएको छ । बिशेष समितिसंगको संयुक्त बैठकमा बिहीबार प्राविधिक समितिले माओवादी लडाकुले पालना गर्नुपर्ने आचार संहितापनि प्रस्तुत गरेको थियो । बैठकले थप छलफल गरी त्यसलाई परिमार्जन गरेर बिशेष समितिको अर्को बैठकमा पारित गर्ने निर्णय भएको प्रवक्ता माधव घिमिरेले बताए । भदौ २१ गते बिशेष र प्राविधिक समितिको संयुक्त बैठक बसेपछि प्राविधिक समितिलाई माओवादी सेनाको नियन्त्रणका लागि कार्यविधि र आचारसंहिता तयार पार्न निर्देशन दिएको थियो ।उक्त निर्देशन अनुसार समितिले तयार पारेको कार्यविधि र आचारसंहिता मंगलबार प्रधामन्त्री माधवकुमार नेपाललाई हस्तान्तरण गरेको थियोभने त्यसअघि समितिका प्रवक्ता तथा मुख्य सचिव घिमिरेलाई बुझाएका थिए । स्रोतले दिएको जानकारी अनुसार कार्यविधिमा माओवादी लडाकुहरुको दैनिक गतिविधिको नियन्त्रण तथा गतिविधिको लागि हरेक शिविरमा कर्मचारीले नेतृत्व गरेको संयन्त्र खडा गरिने व्यवस्था छ । त्यसको नेपाल प्रहरी र नेपाली सेनाबाट अवकास पाएका अधिकृत तथा माओवादी सेनाका कमाण्डर सदस्य रहनेछन् । उक्त संयन्त्र सिधै शान्ति तथा पुननिर्माण मन्त्रालयस्थित शिविर व्यवस्थापन समितिका सचिवप्रति उत्तरदायी हुनेछ । समिति प्राविधि समितिको सचिवालय हुनेछ । संयन्त्रले दैनिक, साप्ताहिक र हरेक १५ दिनमा व्यवस्थापन समितिको सचिवलाई प्रतिवेदन दिनुपर्नेछ । माओवादी लडाकुका विभिन्न इकाईबाट कमाण्डरहरुले भने संयन्त्रलाई दैनिक प्रतिवेदन बुझाउनेछ । मुख्य शिविरमा ६ जना र सहायक शिविरहरुमा ५ जनाको संयन्त्र रहने छ । संयन्त्र माओवादी लडाकुको व्यवस्थापन नसकिएसम्म रहनेछ । कार्यविधि अनुसार शिविरमा रहेको संयन्त्रले माओवादी सेनाको रेखदेख र व्यवस्थापन हेर्नुका साथै उनीहरुको गतिविधिमा पनि निगरानी राख्ने छ । उनीहरु विदा गएको, बाहिर निस्केको, हतियार बाहिर लगे नलगेकोसम्मको निगरानी संयन्त्रले गर्नेछ । त्यसैगरी उनीहरुको मासिक भत्ता वितरण, पानी, विजुली, खाद्यन्नलगायतको जिम्मेवारी पनि स्ंयन्त्रलाई नै दिइएको छ । कार्यविधिमा माओवादी सैन्य हेडक्वर्टरलाई पनि बिशेष समितिको नियन्त्रणमा ल्याउन सुझाव दिइएको छ । त्यसमा माओवादी सेनाका इञ्चार्ज वर्षमान पुन, कमाण्डर नन्दकिशोर पुन, डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाललगायतका छन् । संयन्त्रले व्यवस्थापन समितिको सचिवलाई प्रतिवेदन बुझाएपछि प्राविधिक समिति हुँदै बिशेष समितिसम्म पुग्ने छ । माओवादी सेनाको कमाण्ड बिशेष समितिमा रहने छ । त्यसैगरी प्राविधिक समितिले तयार पारेको आचार संहितामा माओवादी सेनाका लडाकुहरुलाई माओवादीबाट छुट्याउनका लागि पार्टीको झण्ड र नेताको तस्वीर हटाउने, १२ प्रतिशत भन्दा बढिलाई विदा बस्न नदिने तथा संयन्त्रलाई सहयोग गर्नेलगायतका विषयहरु रहेका छन् । माओवादी लडाकुको समायोजन र पुनस्थापना नभएसम्म संयन्त्र शिविरमा रहने छ ।

No comments: