News

Sep 30, 2009

कञ्चनपुरबाट कैदी फरार भएको घटनामा ७ जनालाई निलम्बन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, असोज १४- जिल्ला कारागार कञ्चनपुरबाट कैदी फरार भएको घटनामा ७ जनालाई निलम्बन गरिएको छ। जेलबाट फरार थप एक कैदीलाई पक्राउ गरिएको छ। घटनामा संलग्न भएको आशंकामा कारागारका इञ्चार्ज प्रहरी नायब निरीक्षक भीमबहादुर बम सहित पाँच जना सुरक्षाकर्मी तथा जेलर धनबहादुर चन्द र कार्यालय सहायकलाई निलम्बन गरिएको छ। इञ्चार्जको नाम खुले पनि निलम्बनमा परेका अन्य चारजना सुरक्षाकर्मी र कार्यालय सहायकको नाम प्रहरीले खुलाउन चाहेन।प्रहरीले मंगलबार राति फरार कैदी मध्येका प्रकाश चन्दलाई पक्राउ गरेको छ। चन्दलाई कञ्चनपुरको भीमदत्त नगरपालिक-९ ब्रम्हदेवबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।दशैँको टीकाको दिन कारागारबाट प्रहरीको हतियार खोसेर १३ जना कैदी फरार भएका थिए। प्रहरीले सोमबार राति नै फरार १३ जना कैदी मध्येका तीन जनालाई पक्राउ गरेको थियो। फरार कैदीको खोजीका लागि प्रहरीले जिल्लाको दक्षिणी क्षेत्र लगायत गड्डाचौकी, ब्रह्मदेव र अन्य क्षेत्रमा करिब दुई सय ५० भन्दा बढी प्रहरी परिचालन गरेको छ। शंकास्पद स्थानमा चेकजाँच कडा पारेको छ।गृह मन्त्रायलद्वारा गठित छानबिन टोली बुधवार दिउँसो महेन्द्रनगर आइपुग्ने प्रहरीले जनाएको छ। गृह मन्त्रालयले मंगलबार मन्त्रालयका सह-सचिव शंकर कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

No comments: