News

Sep 19, 2009

यौनक्रीडा गर्ने प्रयास गरेकोमा कोर्रा हान्ने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालालम्पुर/ यहाँको एक इस्लामिक अदालतले बिहे नगरिसकेका एक जोडीलाई कारमा बसेर यौनक्रीडा गर्ने प्रयास गरेकोमा कोर्रा हान्ने आदेश दिएको छ । एक कानुन व्यवसायीले सो कुरा बताएका हुन् ।
एक उदारवादी मुसलमान बहुल देशको रूपमा लिने गरिएको देश मलेसियामा केही समययता मद्यपान गरेकोमा कोर्रा हान्ने अदालती आदेशले विश्वव्यापी चर्चा पाएको थियो । कोर्रा खाने सजाय पाएकी अभियुक्तमा एकजना महिला थिइन् र उनले बियर पिएकोमा उक्त कठोर सजाय सुनाइए तापनि विवादका कारण मुलुकको छवि बिग्रने डरले सरकारले सो सजाय कार्यान्वयन गर्न सकेको थिएन । अहिलेको मुद्दामा केन्द्रीय सेलांगर राज्यको सरियत उच्च अदालतले कारमा बसेर यौनकर्म गर्न प्रयास गरेको अभियोगमा साविती बयान दिएका एक प्रेमीजोडीलाई ६ कोर्रा हान्ने फैसला सुनाएको हो । गत मे महिनामा २९ वर्षे मोहम्मद साहरिन अबदुल मजिद तथा २४ वर्षे नादिया नजात हुसिनलाई कट्टु मात्र लगाएर अफिस पार्किङमा राखिएको कारभित्र यौनकर्म गर्न लाग्दा पक्राउ गरिएको बताइएको छ । उनीहरूले चाँडै नै बिहे गर्ने योजना बनाइसकेकाले सो सजाय नदिन उनीहरूले पुनरावेदन दिँदै छन् । तर, अदालतले तोकेको प्रतिव्यक्ति पाँच हजार रिंगिट जरिवाना भने तिरिसकेका छन् । सरकारी वकिलका अनुसार अभियोग प्रमाणित भएमा उनीहरूलाई तीन वर्षसम्मको जेलसजाय हुन सक्छ । यो सरियत कानुन मुसलमानका लागि लागू हुन्छ । मलेसियाको दुई करोड ८० लाख जनसंख्याको ६० प्रतिशत मुसलमान छन् । चिनियाँ र भारतीय मूलका तथा अन्य अल्पसंख्यकलाई भने यो कानुन लागू हुदैन ।

No comments: