News

Sep 10, 2009

बस दुर्घटना हुँदा १७ को मृत्यु १५ भन्दा धेरै अज्ञात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २५ सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको ना २ ख ६२२८ नम्बरको बस सुकुटे भन्ने ठाउँमा दुर्घटना हुँदा १७ को मृत्यु भएको छ भने अन्य १५ भन्दा धेरै जनाको अवस्था अज्ञात रहेको छ। दशको शव दुर्घटना स्थल र अन्य सातको शव दोलालघाट नजिक फेला परेको हो।सिन्धुपाल्चोकको जलबिरेबाट करिब ४० जना यात्रु लिएर बस काठमाडौं आउँदै थियो। बिहान ९;३० बजे बस भोटेकोशी नदीमा खसेर दुर्घटना भएको हो। दुई वटा बस एक अर्कालाई उछिन्ने प्रयास गर्दा दुर्घटना भएको जनाइएको छ। उद्वार गरिएका पाँच जना भध्ये दुईको अवस्था सामान्य भएको र अन्य दुईलाई उपचारको लागि राजधानी ल्याइएको छ।काठमाण्डौका लागि छुटेको पहिलो बस भएकाले ५५ जनासम्म यात्रु रहेको घटनाबाट वाँच्न सफल भएका एक जना घाइतेले जानकारी दिएका छन्। बस तिव्र गतिमा रहेको तथा डाइभरसँग यात्रुहरुको झगडा पनि परेको ती यात्रुले बताए। गाडी नदीमा डुवेको छ। वेपत्ताहरुको खोजी भइरहे पनि नदीको धमिलो पानीले उद्धारकार्य अप्ठेरोमा पारेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले कदमवास भैसे भन्ने स्थानमा सडकबाट करीब ३५ फिट तल भोटेकोसी नदीमा खसेर दुर्घटनाग्रस्त भएको छ जनाएको छ। जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल भन्सार सुरक्षा वेस अँधेरी सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी निरीक्षक ज्ञानमणि पौडेलको कमाण्डमा २७ जनाको एपीएफ टोली दुर्घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ।दुर्घटनास्थलबाट चिन्ताजनक अवस्थामा तीन जनालाई उद्धार गरी उपचारको लागि काठमाडौंतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएकोछ। एपीएफ टोलीले दुर्घटनास्थलबाट पाँचवटा शव निकालेको जनाएको छ। सिन्धुपाल्चोकका सहायक जिल्ला अधिकारी गोविन्द सापकोटाका अनुसार उद्धार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ। बसलाई नदीबाट झिक्नेक्रममा पाँच वटा शव फेला परेको हो।बसका चार जना यात्रुलाई जिवितै उद्दार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ भने कतिपय यात्रु सुनकोशी नदीमा बगेका प्रत्यक्षदर्शीले बताएका छन्। थप विवरण आउने क्रम जारी छ।

No comments: