News

Aug 28, 2012

एमाओवादीद्वारा पैसा लिएको स्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पोखरा, भाद्र १२ - अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्टयाइएको जग्गा संरक्षणमा काम गरेका ठेकेदारहरूसँग एमाओवादीले पैसा लिएको स्वीकार गरेको छ । विमानस्थलको तारबार र जग्गा सम्याउने काम गरेका ठेकेदारबाट ५० लाख रुपैयाँ एमाओवादीले लिएको भन्ने चर्चा चलिरहेका बेला उक्त पार्टीको जिल्ला समितिले सोमबार पत्रकार सम्मेलन गरी रकम लिएको जनाएको हो । 'पोखरा क्षेत्रमा क्रियाशील व्यवसायीसँग चन्दा सहयोग लिने, पार्टीको हितमा प्रयोग गर्ने, पार्टीका जिम्मेवार तहमा पारदर्शी बनाउने, संस्थागत कामको रूपमा लिएर प्रयोग गर्ने गरिएको छ,' जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणि तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'बाहिर प्रचारमा उठाइएजस्तै कुनै व्यवसायीलाई बलजफ्ती बाध्य पार्ने र पार्टीका नेताको व्यक्तिगत प्रयोजनमा खर्च गर्ने वा भ्रष्टाचार गर्ने अवस्था छैन ।' ठेकेदारसँग लिएको रकम प्रस्ट पार्न पत्रकारहरूले आग्रह गरेपछि तिवारीले भने, '२/४ लाख रुपैयाँ हो । अरू पार्टी वा निकायले जे-जसरी सहयोग लिन्छन्, त्यसैगरी लिएको हो । अन्य व्यवसायीसँग पनि लिएका छौं ।' पूर्वसभासद राजकाजी गुरुङ 'करण' ले लाखौं रुपैयाँ लिएर हिनामिना गरेको आरोप एमाओवादी विस्तारित बैठकमा कार्यकर्ताले लगाएका थिए । पत्रकार सम्मेलनमा रकम हिनामिना नगरेको र पार्टीकै काममा खर्च गरेको दाबी गरियो । तीन वर्षयता अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा, तारबार, सम्याउनेजस्ता काम भएका थिए । अहिले बन्न लागेको विषयमा नभई पुरानो काममा रकम लिएको खुलासा भएको हो । माओवादी विभाजन र गुटबन्दी बढ्दै गएपछि एकअर्कामा पोल खोल्ने होड चल्दा सोही पार्टीका कार्यकर्ताले आफ्नै नेताले खाएको भन्दै कारबाहीको मागसमेत गरेका थिए । साउन २८ गते विस्तारित बैठकमा नेताहरूले विभिन्न भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि लिखित रूपमै माग गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई मञ्चमै बसेका बेला सोही मागलाई लिएर नेता, कार्यकर्ताले होहल्लासमेत गरेका थिए । पछि छानबिन हुने आश्वासन दिएपछि मात्र कार्यक्रम अघि बढेको थियो । त्यतिबेला पोखरा बस व्यवसायीबाट १५ लाख रुपैयाँ, खोप्लाङ काण्ड, सुकुम्बासी काण्ड, शिक्षक सरुवाबढुवा काण्ड, सन्तबहादुर थापाको जग्गा काण्ड, वाईसीएल क्याम्प, विमानस्थल र सीटीईभीटी काण्ड भएको भन्दै कार्यकर्ताले छानबिन माग गरेका थिए । सोही बैठकमा विमानस्थल विवाद समाधान समन्वय समितिका संयोजकसमेत रहेका गुरुङले ल्याएको पैसा पार्टीकै काममा खर्च भएको जानकारी दिँदै विभिन्न जनवर्गीय संगठनलाई बाँडिएको जानकारी तत्कालीन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी 'कुमार' ले जानकारी दिएको यहाँबाट प्रकाशित डन न्युज दैनिकले उल्लेख गरेको छ ।

No comments: