News

Aug 7, 2012

१८ औं ओलम्पिक स्वर्ण जिते पछि माइकलले पौडीबाट सन्यास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी पौडीवाज माइकल फेल्प्सले शनिबार ओलम्पिक पौडीमा सुनौलो क्षण आत्मसात् गरे । बिदाइ खेलका रूपमा रहेको प्रतिस्पर्धामा उनले लन्डन एक्वाटिस सेन्टरमा आफ्नो १८ औं ओलम्पिक स्वर्ण जिते । 'यसलाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ,' आइतबार संन्यासको औपचारिक घोषणा गरेपछि फेल्प्सले भने, 'मैले आफूले चाहेको सबै पूरा गरें । आफ्नो करिअरलाई सोचेजस्तै गरेर अन्त्य गरेको छु, जुन मैले चाहेको थिएँ ।' उनले थपे, 'म अरूले के भन्छन् त्यसमा मतलब राख्दिनँ ।' अमेरिकी फेल्प्स ओलम्पिकको ४ गुणा सय मिटर मिड्लेमा अपराजित रहे । रिलेमा पाएको सफलताबाट आफ्नो करिअरको अन्त्य गरेका फेल्प्सले साथी खेलाडीको सहयोगलाई धन्यवाद दिन पनि बिर्सेनन् । फेल्प्सको पदक वितरण समारोह पनि विशेष भएको थियो । उनलाई विश्व पौडी संघले लाइफटाइम एचिभमेन्ट ट्रफी प्रदान गरेको थियो । ओलम्पिकमा सर्वाधिक सफल खेलाडीको सूचीमा दरिएका उनले ओलम्पिकका चार संस्करणमा सहभागिता जनाउँदै १८ स्वर्णसहित २२ पदक आफ्नो नाममा लेखाए । फेल्प्सले दुई रजत र दुई कांस्य पनि पोल्टामा पारे । सन् २००० को सिड्नी ओलम्पिकमा १५ वर्षको सबैभन्दा कम उमेरमा अमेरिकीका रूपमा सहभागिता जनाएका उनले त्यसलाई सिक्ने अवसरका रूपमा उपयोग गरेका थिए । फेल्प्सले त्यसबेला कुनै पदक नजिते पनि दुई सय मिटर बटरफ्लाईमा पाँचौं स्थान हासिल गरेका थिए । सन् २००४ को एथेन्स ओलम्पिकमा ६ स्वर्ण र २ कांस्य हासिल गरेका फेल्प्सले बेइजिङमा कीर्तिमानी ८ स्वर्ण जितेका थिए । उनी ९ स्वर्णसहित १८ पदक जितेकी लातियानाको कीर्तिमान ४८ वर्षपछि मंगलबार भंग गर्न सफल भएका थिए । त्यसपछि लन्डनमा भएका तीनवटै स्पर्धामा उनले स्वर्ण आफ्नो नाममा पारे । यसअघि ओलम्पिकमा सात स्वर्णसहित १५ पदक जित्दै निकोलाई एन्डि्रएनोभ सफल पुरुष खेलाडीका रूपमा रहेका थिए । लन्डन ओलम्पिकबाट औपचारिक बिदाइ लिएका उनको नाममा सय मिटर बटरफ्लाइ, दुई सय मिटर बटरफ्लाइ र चार सय मिटर इन्डिभ्युजल मिड्लेमा वल्र्ड रेकर्ड पनि छ । अहिलेसम्म अन्तर्राष्ट्रिय सहभागितामा उनले कुल ६९ पदक जितेका छन् । त्यसमा ५८ स्वर्ण, ९ रजत र ३ कांस्य छन् । ओलम्पिक, विश्व च्याम्पियनसिप र पान प्यासिफिक च्याम्पियनसिपमा उनले यो सफलता दर्ता गरेका हुन् ।

एथेन्स २००४-  ६ स्वर्ण, २ कांस्य
बेइजिङ २००८-  ८ स्वर्ण
लन्डन २०१२-  ४ स्वर्ण, २ रजत

No comments: