News

Aug 21, 2012

चार जनालाई कैद र जरिवाना लाइसेन्समा घुस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र ५ - विशेष अदालतले घुस खाएर लाइसेन्स बनाउने बाग्मती यातायात कार्यालयको लाइसेन्स फाँटका दुई कर्मचारी र दुई दलाललाई तीन महिना कैद र ३५ हजारका दरले जरिवाना गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू ओम प्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले खरिदार नेगमराज रेग्मी, कम्प्युटर अपरेटर रामचन्द्र चालिसे तथा लेखापढी व्यवसायी बर्कबहादुर थापा र मनु थापालाई कैद र जरिवानाको फैसला सुनाएको हो । उनीहरूले गतवर्ष विदेशी लाइसेन्सको नेपालीकरण गर्दा घूस खाएर ट्रायल र स्वास्थ्य परीक्षणबिना नै लाइसेन्स वितरण गरेका थिए । प्रहरीको अपराध अनुसन्धान शाखा ललितपुरले अनुसन्धान गरी लाइसेन्सको कारोबारमा संलग्नहरूलाई पक्राउ गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाको अनुसन्धान र मुद्दा दायर गरेको थियो । विशेष अदालतले लाइसेन्स वितरण पारदर्शी, व्यावहारिक बनाउन र सिसिटिभी लगायतका रेकर्डिङ दुरुस्त राख्न भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका अधिकारीहरूलाई निर्देशनात्मक आदेश दिएको छ ।

No comments: