News

Aug 11, 2012

चौबीस दिनमा २४ दुर्घटना, ३०को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गजुरी, साउन २७-चालकको लापरबाही र लामो दूरीमा एकमात्र सवारी चालकको व्यवस्था गर्ने गर्दा राजमार्गमा दिनानुदिन दुर्घटना बढ्दै गएको छ। पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा साउन २५गतेसम्म मात्र १४ वटा सानाठूला दुर्घटना भएका छन्। दुर्घटना परी ३० जनाले ज्यान गुमाइसकेको र ५० भन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ। राजमार्गमा अत्यधिक सवारीको चाप, तीव्र गति, भत्केको सडक दुर्घटनाको मुख्य कारण बन्न पुगेको छ। साँघुरो सडक, घुमाउरा मोड त्यसमा पनि उत्तेजित प्रकारका होर्डिङबोर्ड राखिनु पनि दुर्घटनाको अर्को कारण हो। सडकको बिग्रँदो अवस्था, सवारी साधन पुरानो हुनु, रात्रिकालीन र लामो दूरीमा गुड्ने सवारीमा एकजना मात्र चालक हुनुजस्ता कारणले पनि सवारी दुर्घटना बढेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेको भनाइ छ।
चालकको लापरबाहीका कारण पनि दैनिकजसो दुर्घटना हुने गरेको छ। चालकलाई उचित मात्रामा तालिम नदिनु र सडकको बिग्रँदो अवस्थालाई बेलैमा मर्मत नगरिनु सवारी दुर्घटनाको अर्को कारण रहेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख एवम् प्रहरी निरीक्षक हेमन्त थापा बताउँछन्। नदीका किनारबाट सडक निर्माण भएको र सडकका छेउमा प्याराफिट र ग्याबिन नराखिनाले दुर्घटना बढी भएको उनको भनाइ छ। राजमार्गको छेउबाट कच्ची सडक निर्माण तथा ठूला मोड र तीव्र गतिले गर्दा वर्षायाममा बढी दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन्। त्रिभुवन राजपथको पिपलमोडदेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मौवाखोलासम्मको ८४ किलोमिटरभित्र गत आवमा ६३ वटा सवारी दुर्घटना भएको थियो। दुर्घटनामा चार बालक, चार बालिका, आठ महिला र ३६ पुरुष गरी ५२ जनाले ज्यान गुमाएका थिए। सानाठूला गरी भएका यस्ता दुर्घटनामा ९५ जना गम्भीर घाइते र ७९ जना सामान्य घाइते भएका थिए।
सवारी दुर्घटना बढ्दै गर्दा कोसोक नेपालले राजमार्ग क्षेत्रमा राजमार्ग स्वयम्सेवकको परिचालन गर्दै आकस्मिक उद्धारका लागि सहयोग पुर्‍याउँदै आएको र दुर्घटनापछि प्राथमिक उपचार र उद्धारमा सहयोग गरेको कोसोक नेपालका प्रताप खरेलले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि विशेष अभियान सञ्चालन गर्ने बताए पनि कार्यक्रम गर्नका लागि केही समय लाग्ने कार्यालयका प्रहरी निरीक्षक थापाको भनाइ छ।

No comments: