News

Aug 17, 2012

एमाले अखिलले चुनावमा गुटबन्दी नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १ - एमाले भ्रातृ संगठन अनेरास्ववियुले प्यानलका रूपमा चुनाव लड्दा तलदेखि माथिसम्म गुटबन्दी फस्टाएको निष्कर्ष निकाल्दै आउँदो सम्मेलनबाट निर्वाचन पद्धति परिवर्तन गर्ने भएको छ । प्यानलका रूपमा चुनाव लड्दा पछिसम्म आन्तरिक मतभेद हुने र चुनावी मानसिकताले संगठनमा काम गर्ने पद्घति झांगिएको उसको निष्कर्ष छ । अनेरास्ववियुको नेतृत्व चयन गर्ने सम्मेलन असोज २५ देखि २८ गतेसम्म हुँदैछ । यसअघिका तीनवटा कार्यकालमा उसले प्रत्यक्ष चुनाव पद्घति अपनाएको थियो । 'तलदेखि माथिसम्म चुनाव गर्दा संगठन राम्ररी अघि बढ्न सकेन त्यसैले यसपालिबाट चुनाव प्रणाली फेर्ने निष्कर्षमा पुगेका हौं,' अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले कान्तिपुरसँग भने, 'अध्यक्ष र महासचिव मात्र प्रत्यक्ष अरू पदाधिकारी अप्रत्यक्ष विधिबाट चयन गर्न उपयुक्त हुन्छ भन्ने लागेको छ ।' उनले पुरानो प्रणाली फेर्ने निश्चित भए पनि नेतृत्व चयन गर्ने नयाँ विधिको भने टुंगो लागि नसकेको जानकारी दिए । ढुंगेल नेतृत्वको कार्यसमिति चुनिँदा पनि एमाले अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको समर्थन रहेको स्पष्ट दुई गुट चुनावमा लडेका थिए । त्यही कारण यस कार्यसमितिमा लामो समयसम्म दुई पक्षको आन्तरिक झगडा थियो । पछिल्लो समयमा मात्र अनेरास्ववियुको आन्तरिक झगडा मत्थर भएको हो ।
एमालेले आन्तरिक एकता गर्ने क्रममा पार्टी भित्रका चुनावहरू प्यानलका रूपमा लड्ने सम्बन्धमा पुनर्विचार गर्ने निर्णय गरेको थियो । मूल पार्टीमा भएको सहमति भ्रातृ संगठनको चुनावबाट सुरु हुन लागेको हो । अनेरास्ववियुले यसपटकदेखि छुट्टै विधान सम्मेलन पनि गर्ने भएको छ । नेतृत्व चयन र विधान र नीति कार्यक्रममाथिको दुवै एउटै सम्मेलनमा हँुदा प्रभावकारी नभएको निष्कर्ष निकाल्दै उसले छुट्टाछुट्टै गर्न लागेको हो । विधान सम्मेलन आगामी ९ देखि ११ गतेसम्म राजधानीमा हुने अध्यक्ष्ा ढुंगेलले जानकारी दिए । 'दुवै विषय एउटै सम्मेलनमा अघि बढाउँदा सबैको ध्यान नेतृत्व चयनतर्फ गयो, संगठनका नीति कार्यक्रम राम्रो बनाउनेतर्फ कसैले चासो नदिने अवस्था भयो,' अध्यक्ष ढुंगेलले भने, 'त्यसैले संगठनका विधि विधानमाथि राम्रो छलफल होस् भनेर विधान सम्मेलन छुट्टै गर्न लागेका हौं ।' नेतृत्व चयनका लागि झन्डै १२ सय प्रतिनिधि हुने र विधान सम्मेलनमा ६ सय जति प्रतिनिधि हुने जानकारी ढुंगेलले दिए ।
आगामी सम्मेलनबारे अनेरास्ववियुले बिहीबार एमाले स्थायी समितिका नेताहरूसँग छलफल र ब्रिफिङ गर्‍यो । शीर्ष नेताहरूले चुनाव पद्घति फेर्ने, छुट्टै विधान सम्मेलन गर्नेलगायतका निर्णयहरू ठीक भएको उल्लेख गर्दै संगठनभित्रका विकृतिहरू हटाउन निर्देशन दिए ।

No comments: