News

Aug 16, 2012

खुमबहादुरको फैसला कांग्रेसले नमान्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३२ - कांग्रेस ले नेता खुमबहादुर खड्का विरुद्ध सर्वोच्च अदालतले गरेको फैसला नमान्ने भएको छ । उसले फैसलाविरुद्ध पुनरावलोकन गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले खड्काविरुद्ध अन्याय भएको भन्दै पुनरावलोकनका लागि जाने निर्णय गरेको केन्द्रीय सदस्य पुष्पा भूसालले जानकारी दिइन् । बैठकमा अधिकांश केन्द्रीय सदस्यले खड्कामाथि अन्याय भएको भन्दै पार्टीले पुनरावलोकनका लागि दबाब दिएपछि कांग्रेस यस्तो निर्णयमा पुगेको हो ।
बैठकमा केन्द्रीय सदस्य भूसालले फैसला पुर्वाग्रह भएको दाबीसहित केही नजिर प्रस्तुत गरेकी थिइन् । 'सर्वोच्चको फैसलामा लक्ष्मीराज पाठकको हकमा तराईमा एक बिगाहको आम्दानी २० हजार रुपैयाँ देखाइएको छ,' उनले भनेकी थिइन्, 'खुमबहादुरको हकमा एक हजारमात्र भनिएको छ ।' कांग्रेस नेता गोविन्दराज जोशीको फैसलामा घरभित्रका सामानको मूल्यांकन नगर्ने भनिए पनि खड्काको मुद्दामा घरका सरसामानको मूल्य पनि जोडिएको भूसालको तर्क थियो । भूसालले रामकृष्ण तिवारीको मुद्दामा तमसुकलाई मान्यता दिए पनि खड्काको मुद्दामा अस्वीकार गरिनुले उनीमाथि राजनीतिक पूर्वाग्रह देखिएको बताइन् ।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै मंगलबार डेढ वर्षको कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ जरिवाना र त्यति नै बिगो तिर्नुपर्ने फैसला गरेको थियो । खड्कालाई फसाएको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार पनि पार्टी कार्यालयमा नाराबाजी गरे । केन्द्रीय सदस्य बालकृष्ण खाँडले खड्कामाथि सर्वोच्चको फैसला पूर्वाग्रही भएको दाबी गरे । उनले भने, 'न्यायालय मान्नुपर्छ तर सर्वोच्चका सवै निर्णय मान्नुपर्छ भन्ने छैन, यसमा सरासर खुमबहादुरजीमाथि अन्याय भएको छ ।'
बैठकमा भूसाल, खाँडसहित अजयकुमार चौरसिया, प्रकाशशरण महतले पनि खड्कामाथि अन्याय भएकाले पार्टीले तत्काल कदम चाल्नुपर्ने बताएका थिए

No comments: