News

Aug 25, 2012

नेपाली राष्ट्रपतिको भूमिकाबारे दिल्लीमा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नयाँदिल्ली, भाद्र ९ - भारतीय राजधानी नयाँदिल्लीमा रहेका कांग्रेसका नेताहरू तथा नेपाल मामिलालाई नजिकबाट नियाल्ने भारतीय विज्ञहरूले वर्तमान राजनीतिक गतिरोधको निकासका लागि राष्ट्रपति ले थप भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन् । भारतीय अनुसन्धान संस्था 'अब्जर्भर रिसर्च फाउन्डेसन' ले शुक्रबार यहाँ गरेको अन्तक्रिर्यामा उनीहरूले अहिलेको अवस्थामा राष्ट्रपति मात्रै वैधानिक निकाय भएकाले समस्या सल्टाउन उनले थप कदम चाल्नुपर्ने बताएका हुन् । 'नेपाल अहिले संवैधानिक टुटको अवस्थामा छ । संविधानको संरक्षकको हैसियतमा राष्ट्रपति ले अहिले मुलुक हिँडिरहेको बाटो सच्याउनुपर्छ,' कांग्रेस नेता रामशरण महतले भने, 'कामचलाउ प्रधानमन्त्री हटाएर नयाँ चुन्ने अधिकार पनि राष्ट्रपति सँग छ ।' कंाग्रेसकै नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराई कामचलाउ हैसियतको भएकाले उनले राजीनामा दिइराख्न जरुरी नभएको तर्क गरिन् । फाउन्डेसनका अध्यक्ष एवं भारतका पूर्वविदेशसचिव महाराजकुमार रसगोत्राले नेपालको वर्तमान परिस्थितिमा राष्ट्रपति कार्यालय एकमात्र संवैधानिक निकाय भएको धारणा राखे । ' राष्ट्रपति उत्प्रेरकमात्रै होइन निर्णयकर्ता पनि हुन्,' नेपालका लागि भारतीय राजदूतसमेत रहिसकेका रसगोत्राले भने, 'एउटा कामचलाउ प्रधानमन्त्री सदाका लागि रहिरहन सक्दैन । त्यसैले राष्ट्रपति ले केही थप भूमिका निर्वाह गर्नुपर्छ र त्यो सहमतिका आधारमा हुनुपर्छ तर सहमति सजिलै प्राप्त हुने देखिएको छैन ।' अर्की भारतीय विज्ञ बिना सिक्रीले भने राष्ट्रपति सक्रिय हुँदा उत्पन्न हुनसक्ने जटील परिस्थितिबारे सचेत गराइन् । ' राष्ट्रपति ले उत्प्रेरकका रूपमा निकासका लागि पार्टीहरूलाई घचघच्याइरहनुपर्छ । तर राष्ट्रपति को प्रत्यक्ष शासनबारे कसैले सोच्नु हुँदैन, किनभने यसले विभिन्न विवाद निम्त्याएर जटिलता थप्ने काम गर्नेछ,' बंगलादेशका लागि भारतीय राजदूत रहिसकेकी सिक्रीको तर्क थियो । समाजवादी नेता विजयप्रताप, भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहतालगायतले पनि नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राखेका थिए । शुक्रबारै अर्को भारतीय अनुसन्धान संस्था विवेकानन्द फाउन्डेसनमा नेपालसम्बन्धी 'क्लोज्ड डोर' छलफल गरिएको थियो । सञ्चार माध्यमलाई रोक लगाइएको उक्त छलफलमा एमाले नेता प्रदीप ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक जटिलता र समाधानका उपायबारे बोलेका थिए । भारतीय सेना, विदेश सेवा तथा गुप्तचरका पूर्वअधिकारीहरू सम्मिलित उक्त छलफलमा नेपालमा रहेको भारतविरोधी भावनालाई कसरी घटाउने, नेपालको राजनीतिक प्रक्रियामा भारतले कस्तो सहयोग गर्नसक्छ भन्नेजस्ता प्रश्न उठाइएका थिए । जवाफमा ज्ञवालीले भारतको नेपाल नीतिमा एकरूपता नभएको तर्क गर्दै भारतविरोधी भावना उत्पन्न हुनुका कारणबारे आफैंले गम्भीर भएर परीक्षण गर्न ती भारतीय विज्ञहरूलाई सुझाव दिएका थिए । 'नेपालले भारतबाट खोजेको सद्भावमात्रै हो । यो वा ऊ गठबन्धनलाई भारतको समर्थन छ भन्ने खालका कुुरा सुनिन्छन्,' आफूले छलफलमा राखेका धारणा कान्तिपुरलाई सुनाउँदै ज्ञवालीले भने, 'त्यसैले भारतले आफ्नो प्रस्ट सन्देश के हो, त्यो बताउनुपर्छ । लोकतन्त्र, शान्ति, स्थायित्व र राजनीतिक एकताको पक्षमा आफूलाई उभ्याउनुपर्छ ।'

No comments: