News

Aug 3, 2012

माओवादीको आयोजक समिति नमान्ने कोचिलाको निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विराटनगर, साउन १९- एकीकृत माओवादीका कोचिला राज्य समितिका अधिकांश नेता कार्यकर्ताले बिहीबार बनेको महाधिवेशन आयोजक समिति नमान्ने निर्णय गरेका छन्। विस्तारित बैठकको निर्णय विपरीत २ सय ५१ सदस्यीय समिति बनाइएको, समावेशीकरणका नाममा संयुक्त मोर्चाजस्तो निर्माण गरेको र जनयुद्ध लडेर आएका उपल्लो तहका नेतालाई नसमेटिएको भन्दै कोचिलाले यस्तो निर्णय गरेको हो। झापा, मोरङ, सुनसरी र मजदुरको जिल्ला समिति समेतले भर्खरै इटहरीमा गोप्य भेला गरी यस्तो निर्णय गरेको स्रोतले बतायो। इटहरी नगरपालिकामा बसेको गोप्य बैठकमा तीनै जिल्लाका करिब ६० जना नेता कार्यकर्ता थिए। उनीहरूले महाधिवेशन आयोजक समितिलाई तुरून्त सच्याएर अघि नबढे कोचिला राज्यमा बैठक बस्नै नदिने, केन्द्रको निर्णय लागू नगर्ने, केन्द्रसँग सम्बन्ध 'ब्रेक' गर्ने लगायत निर्णय गरेका छन्। 'बिस्तारित बैठकमा ५० जनासम्मको मात्रै आयोजक समिति गठन गर्ने निर्णय भएको थियो, त्यसविपरीत जम्भो समिति बनाइयो, समावेशीकरणका नाममा संयुक्त मोर्चाजस्तो निर्माण भयो,' एकीकृत माओवादी मोरङका कार्यबाहक इञ्चार्ज गणेश उप्रेतीले नागरिकन्युजसँग भने, 'कोचिलाका साथीहरू समेट्ने कुरामा पनि गम्भीर अपमान भएको छ।' बिहीबारको आयोजक समिति बैठकले कोचिला राज्यबाट शिवकुमार मण्डल, रामकुमारी चौधरी, मुकेश मेयाङबो, पूर्णसिंह राजवंशी, गणेश नेपाली, गोपी अछामी र धर्मशिला चापागाईंलाई महाधिवेशन आयोजक समितिमा राख्ने निर्णय गरेको थियो। राजवंशी, अछामी र चापागाईं तीनै जना संविधानसभाबाट प्रत्यक्ष निर्वाचित पूर्व सभासद् हुन्।

No comments: