News

Aug 9, 2012

आदिवासी जनजातिद्वारा प्रस्तावित पार्टीको घोषणापत्र मात्र सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदिवासी जनजातिका अगुवाहरुले आज छुट्टै पार्टी घोषणको तयारी गरेपनि प्रस्तावित पार्टीको घोषणापत्र मात्र सार्वजनिक गरिएको छ। राजधानीमा आज आयोजित एक कार्यक्रममा नयाँ राजनीतिक शक्ति निर्माण कार्यदलले 'सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी' को घोषणापत्र सार्वजनिक गरेको हो।घोषणापत्र सार्वजनिक समारोहमा कार्यदलका संयोजक डाक्टर चैतन्य सुब्बाले ठूला दलहरुले जनआकांक्षा पूरा गर्न नसकेकोले नयाँ शक्तिको रुपमा प्रस्तावित पार्टीको घोषणापत्र सार्वजनिक गरिएको बताउनुभयो। समारोहमा आदिवासी जनजाति नेताहरुले केहि महिनाभित्रै औपचारिक रुपमा पार्टी घोषणा गरिने जानकारी दिएका थिए।उनीहरुले नयाँ पार्टीलाई आदिवासी जनजातिहरुको मात्रै पार्टीका रुपमा नबुझ्न आग्रह गरेका थिए। नयाँ पार्टी तत्काल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा आदिवासी जनजाति नेताहरुबीच विवाद देखिएको थियो। १८ औं विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर आज उनीहरुले नयाँ राजनीतिक पार्टीको घोषणा गर्ने तयारी गरेका थिए ।

No comments: