News

Nov 12, 2011

माफी फिर्ता नभए कांग्रेसले संसद चल्न नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक २६,हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेललाई माफी दिने सरकारी निर्णय फिर्ता नभए कांग्रेसले संसद चल्न नदिने भएको छ। शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमिति बैठकले सर्वोच्च अदालनले हत्याको आरोप पुष्टि गरी सजाय तोकेको ढुंगेललाई माफी गर्ने निर्णय फिर्ता नगरे संसद अवरोधसम्मको चरणबद्ध आन्दोलनमा जाने निर्णय लिएको हो। 'सर्वोच्च अदालतको फैसलाविपरीत मन्त्रिपरिषदले सभासद् ढुंगेलको मुद्दा फिर्ताले दण्डहीनता बढाउने भएकाले हामीले निश्चित समयभित्र सजाय माफी गर्ने सरकारको निर्णय फिर्ता नगरे चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका छौं,' संसदीय दल कार्यसमिति सदस्य रमेश लेखकले नागरिकसँग भने, 'पहिलो चरणमा संसदमा बोल्ने र समय तोकेर मन्त्रिपरिषदलाई निर्णय फिर्ता गर्ने आग्रह गर्ने र त्यो अवधिमा पनि सुनुवाइ नभए कडा आन्दोनलमा जानेछौं।'पछिल्लोपटक भएको मन्त्रिपरिषद विस्तार र ढुंगेलको सजाय माफी निर्णयले सहमतिको वातावरणमा अविश्वास पैदा गरेको कांग्रेस ठहर छ।
कात्तिक १५ गते प्रमुख दलहरूबीच शान्ति प्रक्रिया र संविधान लेखन अघि बढाउने सातबुँदे सहमति भएको थियो। उक्त सहमतिमा शान्ति प्रक्रियाले निश्चित चरण पार गरेपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उल्लेख छ। तर प्रधानमन्त्री बाबुराम भट्टराईले सार्क शिखर सम्मेलनमा भाग लिन जाने दिन मन्त्री थप गरी इतिहासकै दोस्रो ठूलो मन्त्रिपरिषद बनाएका थिए। कांग्रेसले प्रधानमन्त्री फर्किएलगत्तै औपचारिक छलफल गरेर सजाय फिर्ता निर्णय नसच्याए सदन अवरुद्ध गर्ने रणनीति बनाएको हो। प्रधानमन्त्री भट्टराईले सार्क सम्मेलनमा भाग लिन जानुअघि मन्त्रिपरिषद बैठक डाकी ढुंगेललाई सर्वोच्चले दोषी ठहर गरी तोकेको सजाय माफी गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष पठाएको थियो। सर्वोच्चले एक वर्षअघि नै ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा ढुंगेललाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो।

No comments: